| शनिबार, कार्तिक २८, २०८३

१४ महिनादेखि दाताको सहयोग रोकिँदा बालमन्दिरका बालबालिकालाई छाक टार्न शकस

दराैँदी समाचारदाताः गोरखा नगरपालिका ६ छहरेको बालमन्दिर माध्यामिक विद्यालयमा आबासिय रुपमा बस्दै आएका बालवालिकालाई बिहान बेलुकी छाक टार्न निकै शकस भएको छ । अष्ट्रेलियाको लग अन फाउण्डेसनले वार्षिक तीन लाख ५० हजार सहयोग गर्दै आएको थियो । उक्त सहयोग १४ महिना देखि नआउँदा बालवालिकालाई खाद्यान्न अभाव भएको विद्यालयका प्रधानाध्यापक लुमनाथ लामिछानेले बताए ।

‘२२ जना विद्यार्थी अबासिय रुपमा बस्दै आएका थिए, खाद्यान्न अभाव भएपछि आफन्त नजिक भएकाहरु अहिले त्यतै गएका छन्’ प्रधानाध्यापक लामिछानेले भने ‘१२ जना विद्यार्थी विद्यालयमै छन् ।’ बाँकी भएका विद्यार्थीलाई बिहान बेलुकी खाना खुवाउनै विद्यालयलाई धौ धौ पर्ने अवस्था भएको छ । ‘अहिले बिभिन्न संघ संस्था र ब्यक्तिलाई हारगुहार गरेर छाक टार्नु परेको छ’ उनले भने ‘नियमित आउने सहयोग रोकियो भने अनाथ,असहाय बालवालिकालाई पहिले झै राख्न सक्ने क्षमता विद्यालय सँगै रहँदैन ।’

केही समय अघि अष्ट्रेलियामा आगलागि भएको थियो । त्यहाँका नागरिक पिडामा भएकाले विद्यालयलाई सहयोग केही ढिला गरी पठाउने आस्वाशन फाउण्डेसनका ‘मार्क’ नामक ब्यक्तिले गरेका थिए । त्यसयता पुन लकडाउन भएपछि दाताले सहयोग पठाउने समय धकेलिएको छ । ‘कहिले आउँछ वा आउँदैन पत्तो भएन’ प्रअ लामिछानेले भने । अष्ट्रेलियन नागरिकले छ /छ महिनामा बाल मन्दिरका १४ जना विद्यार्थीलाई पठाउने सहयोगले २२ जना विद्यार्थी विद्यालयले राख्दै आएको थियो ।

विद्यालयमा आबासिय रुपमा बस्दै आएका विद्यार्थीलाई मासिक ८० हजार रुपैयाँ खानामा खर्च लाग्छ । दाताको सहयोग बाहेक ब्यक्ति संघ संस्थाले बिभिन्न पर्व, दिबसको अवसर पारेर सहयोग गर्ने गरेका छन् । ‘बिरामी परेकालाई निजी मेडिकलहरुले पनि निशुल्क उपचार गरिदिने गरेका छन्’ विद्यालयका प्रअ लामिछानेले भने ‘अहिले स्वास्थ्य बिमा गराएकाले सजिलो भएको छ ।’

अहिले बालमन्दिर माविमा आबासिय रुपमा बस्दै आएका धार्चे गाउँपालिकाका १० जना, बारपाक सुलिकोट गाउँपालिकाका ४ जना, चुमनुब्री गाउँपालिका, गोरखा नगरपालिका, आरुघाट गाउँपालिकाको दुई/दुई जना, सिरानचोक गाउँपालिकाको एक र अर्का एक गरी २२ जना रहेका छन् । भुकम्पमा आमा बाबु गुमाएका, परिवारको संरक्षण नपाएका ६ देखि २० वर्ष उमेरका ६ जना केटी र १६ जना केटा बालमन्दिरमा बस्दै आएका छन् ।

‘बस्न खान, पढ्न, शैक्षिक सामग्री, पोसाक सबै निशुल्क जुटाएका छौँ’ प्रधानाध्यापक लुमनाथ लामिछानेले भने । सहयोग रकम रोकिएपछि गोरखा नगरपालिका, वडा कार्यालय लगायत सहयोगी संस्थाहरुलाई विद्यालयले सहयोग गरिदिन हार गुहार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्