
गोरखाको १२ हजार घरमा नीजि धारा
दराैँदी समाचारदाताः एकघर एकधारा कार्यक्रम अन्तर्गत गोरखामा १२ हजार घरधुरीमा नीजि धारा जडान गरिएको छ । प्रदेश सरकारको सो कार्यक्रम अन्तर्गत गत आर्थिक बर्ष २०७६/०७७सम्म १२ हजार एकघरमा नीजि धारा जडान गरिएको खानेपानी तथा सरसफाइ डिभिजनले जानाएको छ ।
दुईबर्ष अघिदेखि एकघर एकधारा कार्यक्रम लागु भएको हो । पहिलो बर्ष दुईहजार आठसय ७९ घरधुरीमा नीजि धारा जोडिएको थियो । गत आर्थिकबर्ष नौ हजार एकसय २२ धारा जोडेको डिभिजन प्रमुख तुलसी बस्नेतले जानकारी दिए ।
चालु आर्थिकबर्ष बर्ष १३ हजार १२ घरधुरीमा नीजि धारा जोड्ने लक्ष्य रहेको बस्नेतले बताए । सार्वजनिक धारा भन्दा नीजि धारा बनाएपछि पानीको जतन हुने अनुभव रहेको डिभिजन प्रमुख बस्नेतले बताए । ‘सार्वजनिक धारा भयो भने स्याहार सम्भार तथा जतन अरुले गरिहाल्छन् नि भन्ने गलत अवधारणाले स्याहार सम्भार कम हुन्छ । यदि घरघरमा नीजि धारा भयो भने धारा, टुटीको पनि जतन हुन्छ । पानी खोलेर फालिराख्ने समस्या पनि समाधान हुन्छ’, उनले भने ।




