
बूढीगण्डकी आयोजनाबाट अधिग्रहण हुने जग्गाको मुआब्ज बितरण अन्तिम चरणमा
बहुचर्चित जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको भएपनि डुवानबाट विस्थापित हुनेहरुको पुनस्र्थापना र पुनर्वासको कार्यक्रम भने अन्योलमा नै रहेको छ ।
कुल १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्नका लागि ५८ हजार १ सय १३ रोपनी जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्नुपर्ने थियो । जसमध्ये असार दोस्रो सातासम्म ४७ हजार दुईसय ६१ रोपनी जग्गाको मुआब्जा वितरण भइसकेको छ ।
धादिङ र गोरखाको आरुघाट बजार तथा धादिङको खहरे बजार क्षेत्रको जग्गाको लामो समयसम्म मुआब्जाको दररेट घोषणा हुन नसकेका कारण मुआब्जा वितरणको गाँठो अड्किएको थियो । गत मंसिर १६ गते आरुघाटका बजार क्षेत्र र खहरे बजारको मुआब्जा दर घोषणा भएपछि मुआब्जा वितरणको गाँठो फुकेको थियो ।
बजार क्षेत्रको मुआब्जा दरमा सुरुसुरुमा केही असन्तुष्ट रहेपनि अहिले स्थानीयहरुले मुआब्जा लिन थालिसकेका छन् । चालु आर्थिक बर्षमा मात्रै ५ अर्ब ३८ करोड भन्दा बढी रकम (मुआब्जा) वितरण भइसकेको छ ।
बुढीगण्डकी जलविद्यूत आयोजना अन्तरगतको बातावरण, मुआब्जा वितरण तथा पुनस्र्थापना इकाइ संयोजक कृष्ण कार्कीले भने, ’आरुघाट बजारको धेरैजसो जग्गाको मुआब्जा वितरण भइसकेको छ, प्राविधिक कठिनाइ भएकाहरुको मात्रै बाँकी हो, खहरे बजार क्षेत्रका स्थानीयहरु पनि प्रक्रियामा आउन थालिसक्नु भएको छ ।’
पाँच रोपनीभन्दा कम जग्गा हुनेहरुको लागि जम्मा पाएको मुआब्जा रकमको थप १५ प्रतिशत मुआब्जा दिने सरकारको निर्णय रहेकाले मुआब्जा लिनेहरुमध्ये ५ रोपनी भन्दा अरु केही पनि र नेपालभर कहीपनि जग्गा जमिन भए÷नभएको प्रमाणित गराउनको लागि मालपोतमा पठाइएको कार्कीले बताए ।
हालसम्म बुढीगण्डकी आयोजना डुवान क्षेत्रमा पर्ने जग्गाहरुको लागि ३१ अर्व ९० करोड रुपैयाँ मुआब्जा वितरण भइसकेको छ । आयोजना अन्तरतग बातावरण, मुआब्जा वितरण तथा पुनस्थापना इकाइका सुचना अधिकारी इन्जिनियर रितेश रावलले भने, ’विद्यालय प्रहरी चौकी, स्वास्थ्य चौकीलगायत सार्वजनिक सम्पदाहरुको बाँकी रहेको छ, तिनीहरुलाई आवश्यकताका आधारमा बस्ती पुनस्र्थापना गरिएको क्षेत्रमा नै आयोजनाले ती संरचनाको पनि पुनस्थापना गर्नेछ ।’




