| शनिबार, कार्तिक २८, २०८३

वन्यजन्तु चोरी शिकार नियन्त्रण सम्बन्धी अन्तरक्रिया तालिम सम्पन्न

गोरखा सदरमुकाममा वन्यजन्तु चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समुदायमा आधारित चोरी नियन्त्रण इकाइ, तथा स्थानीय सरकारसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

यूएस एडको आर्थिक सहयोगमा डब्लुडब्लुएफ नेपाल, हरियो वन कार्यक्रम र जिल्ला वन डिभिजन कार्यालयको समन्वयमा सो कार्यक्रम भएको हो ।

कार्यक्रममा गोरखा नगरपालिका वडा नं. ५, ८ र ११, पालुङ्टार नगरपालिका १०का जनप्रतिनिधि, समुदायमा आधारित चोरी नियन्त्रण इकाइका संयोजक, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, मनास्लु संरक्षण क्षेत्र आयोजना, डिभिजनल वन कार्यालय अन्तर्गत गोरखकाली र पालुङटार सब डिभिजनका प्रमुखहरु सहभागी थिए ।

त्यस्तै शुक्रबार वन रक्षकहरुका लागि सुशासन, मानव वन्यजन्तु द्वन्द्व, वन्यजन्तु चोरी शिकारी तथा अवैध ओसारपसार नियन्त्रण तथा जलवायु परिवर्तन र अनुकूलन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

दरौंदी जलाधार क्षेत्रभित्रका वन हेरालु र वन रक्षकहरु सहभागी कार्यक्रममा डिभिजनल वन अधिकृत तोयानाथ पौडेल र सहायक वन अधिकृत महेश पौडेलले सहजीकरण गरेका ।
डिभिजल वन अधिकृत पौडेलले कार्यक्रममा पारदर्शिता, जवाफदेहिता, जलवायु परिवर्तनबाट उत्पन्न समस्या र समाधान सम्बन्धी विकल्पका कुराहरु प्रस्तुत गरेका थिए । त्यस्तै चोरी शिकारी नियन्त्रण ऐन अन्तर्गत चोरी शिकारीको परिभाषा, चोरी शिकारी हुनसक्ने स्थानहरु, मुख्य नाकाहरुको बारेमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्