| शनिबार, कार्तिक २८, २०८३

गोरखा क्याम्पसको आइसोलेसनमा ७४ लाख खर्च

दराैँदी समाचारदाताः गोरखा क्याम्पसमा संचालन गरिएको क्वारेन्टिन सहितको आईसोलेसन ब्यबस्थापनमा हालसम्म ७४ लाख रुपैयाँ खर्च भएको छ ।
जिल्लाका ११ वटै स्थानीय तहले पाँच/पाँच लाख रुपैयाँ संकलन गरेर संचालन गर्ने योजना बनाएपनि आईसोलेसनमा अहिले सम्म ४५ लाख रकम जम्म भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो मध्ये १० लाख रुपैयाँ भने प्रदेश सरकरले पठाएको रकम रहेको प्रशासनका लेखापाल तुलसी खनालले बताए । ३३ लाख भुक्तानी भइसकेको र बाँकी रकम भुक्तानी हुन बाँकी छ ।

बारपाक सुलिकोट, सिरानचोक, आरुघाट गाउँपालिका र पालु्ङटार नगरपालिकाले पाँच/पाँच लाख जम्मा गर्न अझै बाँकी रहेको उनले बताए । भुक्तानी माग्न दिनदिनै ब्यवशायी आउने गरेको र रकम अपुग भएकाले केहीदिनमा दिने भन्दै फर्काउनु परेको उनले बताए । सबै पालिकाले रकम जम्मा गर्दा पनि भुक्तानी गर्न भने नपुग्ने प्रशासन कार्यालयले जनाएको छ ।

गोरखा क्याम्पसको आइसोलेसनमा साउन १२ गतेयता बिरामी रहेका छैनन् । त्यसअघि पटकपटक गरी गोरखा क्याम्पसको आइसोलेसनमा पुरुष ५२ र महिला नौ गरी ६१ जनाले सेवा लिएका शाखा अधिकृत सुवासचन्द्र आचार्यले बताए । जसमध्ये भिमसेन थापा गाउँपालिकाका ३२ जना, पालुङटार नगरपालिकाका १० जना, शहिदलखन गाउँपालिकाका आठ जना, गोरखा नगरपालिकाका तीन जना, अजिरकोट, सिरानचोक र बारपाक सुलिकोट गाउँपालिकाका दुई/दुई जना रहेका थिए ।

गण्डकी प्रदेश सरकारले आईसोलेसनका लागि उपलब्ध गराउने घोषणा गरेको बजेट अहिलेसम्म प्राप्त नभएकाले तत्काल उपलब्ध गराउन लेखी पठाउने निणर्य बुधवारको बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्