| शनिबार, कार्तिक २८, २०८३

आरुघाट-लार्के सडकको ३० किलोमिटर ट्रयाक खुल्यो

दराैँदी समाचारदाताः आरुघाट गाउँपालिकाको हावाडाँडादेखि चुमनुब्री गाउँपालिकाको घट्टेखोलासम्म ३० किलोमिटर सडकको ट्रयाक तयार भएको छ । २०७४ साल बैशाख १४ गतेदेखि काम सुरु गरेको नेपाली सेनाले तीनवर्षमा उक्त ट्रयाक खोलेको हो ।

अहिले नेपाली सेनाका एक सय ८० र मजदुर एक सय १४ जनाले सडक निर्माणको काम गरिरहेका निर्माण कार्यदलका प्रमुख मेजर निशान्त क्षेत्रीले बताए । सेनाले ९२ किलोमिटर सडकको ट्रयाक खोल्ने गरी जिम्मा लिएर काम सुरु गरेको हो ।

नेपाली सेनाले सडक खोलेसँगै धार्चे गाउँपालिका मुख्य सडकले सबैठाउँ जोडिने भएको छ । तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकामा भने अझै सडक पुगेको थिएन । गाउँपालिका भित्रका झण्डै दुई हजार पाँच सय मानिस जिविका चलाउन हिँडेर, खच्चडमा ढुवानी गरेर त अन्तिम घडीमा महँगो पैसा तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य छन् ।
सडक बिभागले ठेक्का लगाएर लार्के सम्म सडक पुर्‍याउन असम्भव देखेपछि लामो समय उत्तरी गोरखामा सडक बढेको थिएन । गत वर्षदेखि नेपाली सेनाले भिर खोपेर, जोखिमपूणर् रुपमा सडक खनेको छ । भूबनोट चट्टानले बनेको हुनाले सहजै सडक निर्माणको गति अगाडि बढ्न सकेन । वर्षौँसम्म उत्तरी गोरखाका सर्वसाधारण पैदल हिँडेर सदरमुकाम धाए । अहिले पनि यो क्रम रोकिएको छैन । लार्केसम्म उक्त सडक जोडिएपछि धार्चे र चुमनुब्री क्षेत्रका स्थानीय सडक आईपुग्नेमा आशावादी छन् ।

मनास्लु क्षेत्र जोड्ने उक्त सडक सेनाले आठ मिटर फराकिलो बनाउनेछ । अधिकांश ठाउँमा पहरो, भिर र कडा चट्टान रहेको, तल्लो भेगमा बुढीगण्डकी नदी पर्ने भएकाले बिस्फोटबिना सडकको टूयाक खोल्न संभव छैन । ‘दिनहुँ बिस्फोट गराएर पहरो फोड्नु परेको छ’ इन्जिनियर मेजर क्षेत्रीले भने ।

बर्षात भएकाले अहिले सोतीभन्दामाथि सहजै सवारी साधन जान सक्ने अवस्था छैन । हिउँदमा भने तातोपानीसम्म सहजै सवारी आउजाउ गरिरहेको थियो । माछाखोलासम्म सवारी साधन संचालन हुँदा ढुवानी भाडा घटेको र यात्रा गर्न पनि सहज भएको माछाखोलाका स्थानीय हर्कबहादुर गुरुङले बताए ।

पहिले सोतीबाट माछाखोलासम्म खच्चडमा समान ल्याउन प्रतिकिलो १० रुपैयाँ तिर्नुपथ्र्यो अहिले चारदेखि पाँच रुपैयाँमा माछाखोलासम्म गाडीबाट सामग्री ढुवानी गर्ने गरेको स्थानीय ब्यापारी समेत रहेका गुरुङले बताए । सडक निर्माण भएपछि उत्तरी गोरखाको मनास्लु पदमार्ग जाने पर्यटकलाई पनि सजिलो भएको छ । सेनाले लार्के भञ्ज्याङसम्म सडक जोड्ने र नियमित सवारी आउजाउ हुने हो भने उत्तरी गोरखाका सर्वसाधारणको दैनिक निकै सस्तो र सजह हुने चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ बताउँछन्

प्रतिक्रिया दिनुहोस्