| शनिबार, कार्तिक २८, २०८३

भुकम्प पीडित ठग्न गाउँगाउँमा टोली

भूकम्पमा घर भत्केका, तर पटक पटक गुनासो आवेदन फर्म भर्दा पनि नाम छुटेकाहरुलाई ठग्न गाउँगाउँमा टोली परिचालन भएको छ । पुनरावेदन फर्म भरिदिने भन्दै प्रत्येक आवेदकसँग दुईहजार रुपैयाँ असुल्ने टोली गाउँगाउँमा परिचालन भइरहेको पिडितहरुले बताएका छन् ।
‘पुनरावेदन फर्म भर्न भन्दै हाम्रो गाउँघरमा पनि टोली आएको छ’ भीमसेनथापा गाउँपालिका ४ का एकजनाले टेलिफोनमा भने, ‘फर्म भरेको एकजनासँग दुईहजार रुपैयाँका दरले उठाइरहेका छन् ।’ अरु वडाहरुमा पनि टोली बनाएर छ्यापछ्यापी परिचालन भएको उनले बताए ।
एकसय रुपैयाँ राजस्व तिरेर भर्ने पुनरावेदन फाराम भरेको दुईहजार रुपैयाँ असुलेर पीडितलाई ठगेका स्थानीयहरु बताउँछन् । भीमसेनथापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले ठगी हुनबाट जोगिन पालिकाका बासिन्दालाई अनुरोध गरेका छन् । उनले सबै वडा कार्यालयबाट सकेसम्म निशुल्क, नभए पनि न्यूनत्तम शुल्कमा पुनरावेदन फाराम भर्ने व्यवस्था मिलाउने जनाएका छन् । प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले यस बारेमा आइतबार अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुखसँग छलफल गरेको बताएका छन् । भूकम्प पीडितलाई ठगिनबाट जोगाउन प्रयास गर्ने उनले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्