
कोरोना त्रासले इदको रौनक घट्यो
दराैँदी समाचारदाताः गोरखा लगायत देशभरका मुस्लिम समुदायले शनिबार बकर इद पर्व मनाएका छन् । कोरोना भाईरसको त्रास र प्रभावका बिच पनि मुस्लिम समुदायले इद पर्व मनाएका हुन् ।
गोरखा नगरपालिकाको फिनाम, ताप्ले, नगरपालिका क्षेत्र, भिमसेन थापा गाउँपालिकाको अश्राङ, आरुघाट गाउँपालिका, गण्डकी र सिरानचोक गाउँपालिकामा मुस्लिम समुदायको बाक्लो बस्ती छ । यी बस्तीहरुमा शनिवार इदको रौनक थियो तर अन्य वर्ष जस्तो थिएन । सार्वजनीक सवारी साधन नचलेको, कोरोनाको असर कम नभएकाले पालना गर्नुपर्ने सामाजिक दुरी लगायतका कारण आउजाउ भने पातलो भएको गोनपा २ का वडा अध्यक्ष रहमतुल्ला मियाँले बताए ।
इदको अवसरमा आफन्तकहाँ जाने, मिठा खानेकुरा खाने, सामुयिक नमाज पढ्ने लगायतको काम गरिन्छ । कोरोनाको त्रासका कारण अन्य वर्ष भन्दा कम मानिस भेला भएका थिए । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व बकर इदमा बिशेष गरेर पशु चौपायालाई कुर्वानी अर्थात् बलि दिएर मनाउने गरिन्छ । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद-उल-जुहा’ पनि भन्ने गरिन्छ ।
बकर इदको नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैंसी, भेडा र ऊँट लगायत चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ । कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ ।




