
बजेट सक्ने ध्याउन्नः भवन बन्यो झाडी
दराैँदी समाचारदाताः आवश्यकताको पहिचान नगरी बजेट सिध्याउन मात्र गरिएको काम कस्तो हुन्छ ? यो प्रश्नको जवाफ चाहिएमा गोरखा नगरपालिका वडा नं. ११, बारकिलोको मुख्य सडक छेवैमा पशुसेवा विज्ञ केन्द्रले निर्माण गरेको खसीबोका संकलन केन्द्र हेरे पर्याप्त हुन्छ ।
तत्कालीन विज्ञ केन्द्रका प्रमुख ब्रजकिशोर ठाकुरको पहलमा निर्माण गरिएको एक कोठे संकलन केन्द्र भवन एकबर्ष अघिको जेठमा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गरेका हुन् ।
चारलाख रुपैयाँको लागतमा निर्माण भएको एक कोठे भवन उद्घाटन समारोह हेर्न जिल्ला न्यायधीश रकेशकान्त अधिकारी, तत्कालीन प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, जिल्ला समन्वय समितिकी उपप्रमुख जनुका अधिकारी, तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, प्रदेश पशुपंक्षी विकास निर्देशनालयका पशुपंक्षी तथा मत्स्य विकास निर्देशक मानबहादुर पुन, वरिष्ठ पशु चिकित्सक लक्ष्मण ढकाल, सरकारी वकिल धर्मराज पौडेललगायत भेला भएका थिए ।
विज्ञकेन्द्र प्रमुख ठाकुरले धुमधामले उद्घाटन गराएका सो भवन १४ महिना बितिसक्दा पनि प्रयोगमा आएको छैन । उद्घाटन गरेदेखि अहिलेसम्म त्यहाँ कसैले पनि नटेक्दा भवन झाडीले छोपिएको छ । ‘त्यो सडकमा हिड्दा मलाई पनि लाज लाग्छ’, विज्ञकेन्द्रका हालका प्रमुख इन्द्रबहादुर भट्ट भन्छन्, ‘त्यतिबेलाका हाकिमले किन बनाएका हुन्, किन प्रयोग गर्न सकेनन्, मैले केही बुझ्न सकेको छैन ।
कि हाटबजारको व्यवस्था गर्न सक्नुपथ्र्यो । बनाएर छाडेर त्यसको के औचित्य ?’ सो काम आम नागरिकले जति अनुपयुक्त देखेका छन्, आफूले पनि त्यतिकै अनुपयुक्त देखेको उनले बताए ।
तत्कालीन कार्यालय प्रमुख ठाकुरले भने खसीबोका संकलन केन्द्र निर्माण शीर्षकमा बजेट आएकाले निर्माण गरेको दाबी गरेका छन् । ‘त्यो शीर्षकमा बजेट थियो, त्यसैले बनाएँ’, उनी भन्छन्, ‘त्यसको उपयोग गर्ने त स्थानीय किसानहरु हुन् । त्यसको रेखदेख, अनुगमन गर्ने विज्ञ केन्द्र हो । उनीहरु के हेरेर बसेका छन् ?’ स्थानीयबासीको मागको आधारमा बनाएको उनको दाबी छ ।
तर स्थानीयबासी भने भवन उद्घाटन भएपछि मात्र त्यसको बारेमा थाहा पाएको बताउँछन् । ‘हाम्रो टोलमा के बनेको रहेछ भन्ने कुरा हामीले उद्घाटन गरेपछि मात्र थाहा पायौँ’, स्थानीय अनील कुँबर भन्छन्, ‘आवश्यकता पहिचान गरेर, मागको आधारमा बनाएको होइन ।’
स्थानीय वन क्षेत्रमा निर्माण गरिएको खसीबोका संकलन केन्द्र अहिले सडकबाट साइनबोर्ड प्रष्ट देखिने तर भवन भने झाडीले छोपिने अबस्थामा पुगेको छ ।
आसपासका बाख्रा पालन केन्द्रहरुका बोका, खसी ल्याएर संकलन गर्ने र बेच्ने उद्देश्यले बनाइएको तर प्रयोग हुन नसकेको वडाअध्यक्ष रामबहादुर खड्का बताउँछन् ।




