| शनिबार, कार्तिक २८, २०८३

पहिरोले सतिपिपल जोखिममा, देवीमाई र ढाँड जाने बाटो पनि पहिरियो

दराैँदी समाचारदाताः अबिरल बर्षापछिको पहिरोलें गोरखा सदरमुकामको सतिपिपल बजार जोखिममा परेको छ । सतिपिपलको अन्तिममा रहेको टोल पहिरोको जोखिममा रहेको स्थानीय सानुकाजी कुँबरले जानकारी दिए ।

‘घरअगाडिको सडक नै भासिएको छ’, उनले भने, ‘अझै पानी आइरहेमा सडकको दायाबायाँ रहेका घर पहिरिने सम्भावना छ ।’ देवीथान टोलजाने बाटोबाट गएको पहिरोले सतिपिपल बजार जोखिममा पारेको उनले बताए ।

सतिपिपल भन्दा तल रहेको देवीमाई टोल र ढाँड गाउँ पनि पाहिरोको चपेटामा छ । सतिपिपल बजारदेखि झरेको पहिरोले ती गाउँ जाने बाटो अबरुद्ध भएको स्थानीय सुशील थापा मगरले जानकारी दिए । ‘बाटोमा ठूलो पहिरो छ’, उनले भने, ‘पहिरो निरन्तर झरि रहेकाले हिड्न पनि मुस्किल हुन्छ । ग्याभिन तारजालीको प्रयोग गरेर बाटो मर्मत नगरे हिड्न सकिदैन ।’ सो बाटो भएर देवीमाई टोल, ढाँड गाउँ, काफलघारी, घलाङ, बेनिखोला, स्वाँराका बासिन्दा हिड्न समेत कठिन भएको उनले बताए ।

साथै स्थानीयबासीले परापूर्व कालदेखि प्रयोग गर्दै आएको भीरपानी कुवा पनि पहिरोले नष्ट गरेको छ । पानीको सो स्रोतको संरक्षण गर्नुपर्ने स्थानीयबासीको माग छ । ‘सतिपिपल, पोखरीथोक, देवीमाईटोल, ढाँड, काफलघारीका बासिन्दाले परापूर्वकालदेखि प्रयोग गर्दै आएको खानेपानी मुहान पनि नष्ट भयो’, उनले भने, ‘ग्याभिन तारजालीको प्रयोग गरी यसको संरक्षण र मर्मत सम्भार गर्नुपर्छ ।’

शनिबार सम्पन्न टोलबासीहरुको बैठकले मैदानदेखि देवीमाई टोल, ढाड तथा काफलघारी जाने सडक निर्माण गर्न माग गर्ने निणर्य गरेको छ । ‘नगरपालिकाभित्र रहेर पनि दुर्गममा बसेको जस्तो भेदभावको ब्यबहार भइरहेको छ’, स्थानीय नानीमाया थापा मगरले भनिन्, ‘कम्तीमा पनि पक्की सडक, खानेपानी जस्ता आधारभूत आवश्यकताका पूर्वाधारहरु बनाउन वडा कार्यालय र नगरपालिका कार्यालयले मद्दत गर्नुपर्छ ।’ तत्कालका लागि भने पहिरो रोकथाम अपरिहार्य रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्