
तीनखण्डेका पहिरो पिडित भन्छन्ः ‘न घर छ न घडेरी’
शिव उप्रेतीः शुक्रबार दुईबजेतिर तीनखण्डे पुग्दा देवीकुमारी भट्ट घाँसको भारी बोकेर गोठतिर जाँदै थिइन् । अगाडिबाट नचिनेको मान्छेले फोटो खिचेको देखेपछि लाज र संकोच मान्दै घाँस भुइँमा राखेर उभिइरहिन् । उनको पछिपछि आइरहेका दुई बालिका पनि कपाल चलाउँदै, औँला टोक्दै हजुरआमाको छेल परे ।
‘गोरुलाई घाँस हाल्न जान लागेको । आउनुस् बस्नुस्’ भन्दै उनी फर्किइन् ।
उनी फर्किएर गएको ठाउँ एउटा विद्यालयको आँगन थियो । दुई भवनको बीचको मैदानमा दुईवटा त्रिपाल टाँगिएको थियो । त्यहीँ थुपारिएको थियो उनको झिटी गुण्टा । विद्यालयको कोठाभित्रको एउटा कुनामा करिब चारडोको जति मकै असरल्ल थियो । अर्को कुनामा रेडक्रसको लोगो अंकित भाँडाकुँडा, ओड्नेओछ्याउने थिए । अर्को कुनामा बेञ्चहरु जोडेर बनाइएको ओछ्यान थियो ।
तीन नातिनीलाई लिएर देवी कुमारी यहाँ सुतेको चार दिन भयो । ‘सुतेको भन्नुमात्र हो । आज पनि राती दुईबजेसम्म आँखै लागेन’, उनले भनिन्, ‘रातभरि उठ्दै झ्यालबाट बाहिर हेर्दै गरि रहेको छु । हेर्दाहेर्दै आँखै अगाडि पारि पाखामा यत्ति ठूलो पहिरो गयो । अब यी लालाबालालाई कहाँ लगेर राख्ने भनेर रातभरि मन उँडेको चरा भयो ।’ रात त जेनतेन बित्यो, अब कहाँ गएर बस्ने भनेर दिनमा पनि पीर मात्रै लाग्ने उनी बताउँछिन् । ७० बर्ष बिताएको तीनखण्डेको आफ्नो घर भएको तर्फ फर्केर जान उनलाई पटक्कै मन छैन ।

सोमबारको पहिरोले धन्नै तीन नातिनी र उनको उएटै चिहान बनाएको । ‘धन्न पल्ला घरका केटाहरु आएर छानाको जस्तामा डड्याङडुडुङ गरेर ब्युँझाएर मात्रै बाँचेको । नत्र हामी तीनजनाको एउटै चिहान भइसक्थ्यो’, उनी भन्छिन्, ‘जति बसियो बसियो, पुग्यो । अब त्यहाँ घर बनाएर बस्न त के, हेर्न जान मन पनि छैन ।’ उनी ब्युँझिएर भाग्दा छिमेकीको दुईवटा घर पहिरोसंगै बगेर ५० मिटर तल पुगिसकेका थिए । निद्राबाट ब्युँझिने बित्तिके देखेको त्यो दृश्यले उनको होहवास उड्यो । अब घर बनाएर बस्न उनको जग्गा छैन । ‘घर र भएभरको पाखो बारी पहिरोले बगाइहाल्यो ।
अब एक बिहानको मेलो खेत छ । त्यो पनि खोलाको किनारमा । घर बनाउन मिल्दैन’, स्थानीय युवा अर्जुन भट्ट भन्छन्, ‘श्रीमान उहिल्यै बिते । छोरा सहरमा मजदुरी गर्न गएको छ । बुहारी तीनवटा छोरीलाई छोडेर अर्कै श्रीमानसित गइन् । यो परिबारको बिचल्ली छ ।’ घर बगाएपछि केही पनि झिक्न नभ्याएको उनको परिबार वडा कार्यालयले दिएको एक बोरा चामलको भरमा बाँचि रहेको छ । गत सोमबारको पहिरोले तीनखण्डेका तीन घर बगाएर लगेको छ । आसपासमा रहेका अरु गोकणर् भट्टको घर पनि ५० मिटर तल पुर्याएको छ । त्यस्तै लालबहादुर भट्ट र मायादेवी भट्टको घर पनि पहिराले लगेको छ । पहिराको चिराले स्थानीय सुमित्रा पाण्डे, जानकी पाण्डे, किसान पाण्डे, नीलबहादुर पाण्डे, मानबहादुर पाण्डे, नवराज पाण्डे र सन्तोष पाण्डेको घर पनि जोखिम बनाएको स्थानीय नवराज पाण्डेले जानकारी दिए ।
उनीहरु सबै घर छोडेर कोही स्कुलको भवनमा कोही हर्राबोटेमा आफन्तको शरणमा बस्न गएका अर्का स्थानीय सुरेश भट्टले बताए । ‘यहाँ पहिराले बगेको तीन घर भट्ट परिबारको अन्यत्र घर बनाउने जग्गा पनि छैन, यहाँ बस्न मिल्ने त कुरै भएन’, उनले भने, ‘सरकारले तत्कालका लागि खाने र बस्ने व्यवस्था मिलाइदिनुपर्यो । दीर्घकालका लागि घरघरेडीको व्यबस्था गरिदिनुपर्छ भन्ने हामी सबैका माग छ ।’
बिहान पौने पाँच बजे गाउँ बगाएको त्यस दिनको घटनाले हातमा काम पनि नआउने, भोक, निद्रा नलाग्ने स्थानीयबासीको दुखेसो छ । ‘आइतबारको पहिरोले हाम्रो घरभन्दा अल्लि पर ठूलो पहिरो गयो । त्यसपछि हामी सुत्नै सकेका छैनौं’, स्थानीय सुरेश भट्ट भन्छन्, ‘नभन्दै सोमबार त बिहानै गाउँ लगिहाल्यो । अहिले पनि जताततै चिरैचिरा छ । यो वरिपरि कतैपनि बस्न मिल्ने ठाउँ नै छैन ।’
भूगर्भविद आएर भौगर्भिक अध्ययन गर्नुपर्ने पनि उनको माग छ । रेडक्रसको गोरखा शाखाले लत्ताकपडा र भाँडाकुँडा, वडा कार्यालयले एक बोरा चामल, केही नूनतेल र गाउँपालिका कार्यालयले १० हजार रुपैयाँका दरले दिएको राहतको भरमा बाँचिरहेको अर्का स्थानीय अर्जुन भट्टले बताए । ‘यत्तिले हामीलाई के पुग्छ र ? खानेकुरा हामी काम गरेर जोहो गर्छौँ, बस्ने बासको व्यवस्था सरकारले गरिदिनुपर्यो ।’




