| शनिबार, कार्तिक २८, २०८३

बाढीपहिरोमा घर गुमाउनेलाई भूकम्प पीडित सरह पुनर्निर्माण खर्च दिने

दराैँदी समाचारदाताः सरकारले बाढी, पहिरो, डुवान तथा कटानजस्ता कारणबाट घरवारविहीन भएका परिवारलाई घर बनाउन भूकम्प प्रभावितलाई जति नै सुविधा दिने भएको छ । मन्त्रिपरिषदको साउन ५ गतेको बैठकले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०६४ लाई संशोधन गरी विपद पीडित उद्धार र राहतसम्बन्धी (सातौं संशोधन) मापदण्ड २०७७ स्वीकृत गरेको छ । उक्त मापदण्ड अनुसार मनसुन अवधिको बाढी, पहिरो, डुवान र कटानले घरबारविहीन भएकालाई २०७२ सालको भूकम्प प्रभावितलाई प्रदान गरिएको विधि र प्रक्रियाबाट शहरी विकास मन्त्रालयले आवास निर्माणको व्यवस्था मिलाउनेछ ।

सरकारले २०७२ साल वैशाख १२ गतेको भूकम्पमा परी घरबास गुमाउनेलाई नयाँ घर बनाउन ३ लाख रुपैयाँ अनुदान दिँदै आएको छ । स्वीकृत मापदण्डअनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारीले पीडितको खोज तथा उद्धारका लागि २५ जना जुनसुकै बेला परिचालन हुन सक्ने गरी राख्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै सीडीओको नेतृत्वमा रहने जिल्ला विपद व्यवस्थापन समितिको मातहतमा आपतकालीन खाद्यान्न र कपडा भण्डारण गरेर राख्नुपर्नेछ । उक्त मापदण्डमा विपदको घटनामा परी ज्यान गुमाउनेलाई दिइने राहत रकम पनि किटान गरिएको छ ।

कुनै परिवारमा १ जनाको मृत्यु भए २ लाख, एक भन्दा बढीको मृत्यु भए प्रतिव्यक्ति थप एक लाख रुपैयाँका दरले राहत पाउने उल्लेख गरिएको छ । तर एकाघरका सबै व्यक्तिको मृत्यु भएमा कसैले पनि राहत पाउने छैन । विपदबाट घर, बसोबासस्थल, खाद्यान्न, पसल नष्ट भए गुजाराको लागि प्रति परिवार १५ हजार दिइने पनि मापदण्डमा उल्लेख छ । ५ जनासम्मको परिवार भए १५ हजार र ५ भन्दा बढी भए २० हजार रुपैयाँ राहत पाउनेछन् । उक्त रकम सम्भव भएसम्म घटनास्थलमा नै दिनुपर्ने मापदण्डमा उल्लेख छ ।

विपदमा घर भत्किए वा पूणर् रुपमा नभत्किए पनि खतराबाट जोगिन सुरक्षित स्थलमा बस्नुपर्ने भएमा अर्को ठाउँमा घर बनाउन सरकारले एक लाख रुपैयाँ दिनेछ । अर्को स्थानमा बसोबास गर्ने घर नभएमा मात्र पीडितले यस्तो राहत पाउनेछ । सरकारले विपद पीडित उद्धार तथा राहत व्यवस्थापनमा खटिने व्यक्तिलाई उचित पुरस्कारको घोषण गरेको छ । उद्धार र राहतको काममा खटिने समाजसेवी, राजनीतिक व्यक्ति, व्यवसायी, सामाजिक संघसंस्था एवं राष्ट्रसेवक कर्मचारीलाई पुरस्कार दिन प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले गृह मन्त्रालयमा सिफारिस गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्