
जथाभावी सडक खन्दा पाईलैपिच्छे पहिरो
दराैँदी समाचारदाताः आईतबारदेखि लगातार बर्षात हुँदा गोरखाका पक्की, कच्ची सडकमा जहाँतहीँ पहिरो बगेको छ । आँबुखैरेनी-गोरखाको २४ किलोमिटर सडकमा दर्जन ठाउँमा साना-ठुला पहिरो खसेको छ । गोरखादेखि आरुघाट सडक पनि अवरुद्ध छ । बाह्रकिलोदेखि बालुवा, बारपाक सडक, गोरखा, बुंकोट, नाम्जुङ, फुजेल सडक, गोरखा पालुङ्टार सडक, गोरखा भच्चेक सडक पहिरोकै कारण बन्द छ ।
सदरमुकाम भएर ग्रामीण भेग जाने मुख्य सडक मात्रै होइन शाखा सडकमा पहिरोले सवारी चल्न सक्ने अवस्था छैन ।
केही दिन यता वर्षातपछि पहिरोले सबैजसो ग्रामिण सडक अवरुद्ध भएको छ । सडकमाथि पहिरो बग्ने, सडक भासिने, रुख ढलेर अवरुद्ध हुने भएपछि जरुरी कामले यात्रामा निस्किएका सर्वसाधारण अलपत्र परेका छन् । गोरखादेखि काठमाण्डौँ, चितवन पोखरा जान सक्ने अवस्था छैन भने ग्रामिण भेगबाट सदरमुकाम सँगको आउजाउ पनि टुटेको छ ।
एघारकिलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका इन्जिनियर राजेश यादबले भने ‘मनपरी तरिकाले शाखा सडक खन्ने गरेकाले जताततै पहिरो बगेको छ ।’ मध्यपहाडी लोकमार्गको गोरखामा पर्ने बिभिन्न ठाउँमा पहिरो गएको छ । मानिसले बस्ती, खेतीगर्ने ठाउँको लागि जमिन अतिक्रमण गर्ने, फडानी गर्ने गरेकाले पहिरोको जोखिम सडकमा धेरै परेको उनले बताए ।
‘हामीले एक किलोमिटरका लागि हुने बजेटबाट धेरै किलोमिटर सडक बनाउन खोज्छौँ, जनताको पनि दबाव हुन्छ’ इन्जिनियर यादवले भने ‘यसरी काम गर्दा सडक वर्षेनी बनाउनुपर्ने हुन्छ, पहिरो बग्छ, भत्कन्छ ।’
सडक निर्माण गर्दा संरचना बलियो बनाउन नसक्नु, स्टमेट अनुसार पूरा काम नहुनु, संभावित खतराबारे अध्ययन नहुँदा सडकलाई पहिरोले पुर्ने, बगाउने गरेको उनले बताए । मुख्य सडकबाट शाखा सडक जोडेर लगिएका धेरै ठाउँमा पहिरो जाने, भलपानी बग्ने हुँदा बाटो अवरुद्ध भएको छ । ‘सडक लिंङ्क गर्दा बलियो र ब्यवस्थित हुन सकेको छैन’ उनले भने । सडक बनाउन नाला, पर्खालको जग सुरुदेखि बलियो बनाउनुपर्ने बताउँदै उनले एकैपटक सबै काम गर्नुपर्ने तर त्यस्तो अभ्यास नहुँदा क्षति भएको उनले बताए ।
बनजंगलमा जथाभावी खलल पुर्याएर सडक खनेका कारण पहिरो बगेको डिभिजन बन कार्यालयका प्रमुख तोयानाथ पौडेल बताउँछन् । ‘रुख ढालेर सडक खनिएको छ, बन कार्यालयमा अनुमति लिइएको छैन, ढालिएको रुख र खनेको माटो वर्षातका बेला पहिरो बनेर बग्यो’ उनले भने ‘घरघरमा सडक लैजाने चाहनाले रुख धेरै मासिएका छन्, सामुदायिक बन ढालिएका छन् ।’ जताततै पहिरो बगेपछि बन डिभिजन कार्यालयले वातावरणीय प्रभाव मूल्याङ्कन(इआइए) बिना सडक खन्न नदिने योजना बनाएको डिभिजन प्रमुख पौडेलले बताए । ‘पूर्वाधार बनाउने, बिकास गर्ने नाममा खनिएको सडकले मानवीय र भौतिक क्षति समेत भएको छ’ उनले भने ‘बिकासले बिपत्तिसँगै बिनास निम्त्याएको छ, यसबाट पाठ सिक्नुपर्छ ।’
सडक निर्माण गर्नुअघि वतावरणीय प्रभाव मूल्याङ्कन(इआई) गरेर मन्त्रिपरिषदको निणर्यपछि मात्रै रुख काट्नुपर्छ । तर गोरखामा लामो समयदेखि रुख काट्ने अनुमति कुनै आयोजना र स्थानीय तहमा खुलेका नयाँ टूयाकले समेत लिएका छैनन । प्राविधिक रिपोर्टमा कसरी सडक खन्ने, जोखिम न्यूनिकरणमा कसरी ध्यान दिने, संभावित क्षतिको अवस्था लगायतको बारेमा पूर्व मूल्याङ्कन हुने हुँदा जोखिम कम हुने डिभिजन प्रमुख पौडेल बताउँछन् ।
हरेक स्थानीय तहमा टोलटोलमा सडक पुर्याउने होडबाजी चलेको छ । जनप्रतिनिधि भने सडक लगायत अन्य पूर्वाधार निर्माणमा जनताको माग र दबाव हुने भएकाले रोक्न नसक्ने बताउँछन् । ‘जनप्रतिनिधि लाई दबाव हुन्छ तर जनतालाई बुझाउन सकियो भने बिपत्तिको सामना गर्नुपर्दैन, त्यो गर्न हामीले मात्र सकेका छैनौँ’ पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कँडेलले भने । गाउँ गाउँमा डोजर चालक आफैँ इन्जिनियर हुँदा पहिरोले सडक बगेको उनले बताए । ‘प्राविधिकले स्टमेट गर्दादेखि कमजोर काम गर्ने हुँदा सडक राम्रो भएन’, उनले भने ‘प्राविधिक पक्ष पनि सुधार गर्नु जरुरी छ ।’




