| शनिबार, कार्तिक २८, २०८३

सवारी नियम उलंघन गर्नेहरु वर्षेनी बढ्दो

दराैँदी समाचारदाताः सवारी चालकहरुले नियम उलंघन गरेर सवारी चलाउने क्रम बढेसँगै प्रहरीले कारवाही पनि बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतवार कार्यालयमा पत्रकार भेटघाट गर्दै २०७६/७७ को एक वर्षमा १० हजार एक सय ५० वटा सवारी साधन कारवाहीमा परेको जनाएको छ ।

‘यसबर्ष ७२ लाख सात हजार रुपैयाँ जरिवाना स्वरुप राजस्व संकलन भएको छ’, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक मित्रलाल ढकालले भने । यसअघि गतबर्ष १० हजार छ सय सवारी साधन कारवाहीमा पर्दा ७२ लाख ३० हजार रुपैयाँ राजस्व ट्राफिक प्रहरीले लिएको थियो । लकडाउनको कारण चैत ११ गतेदेखि सार्वजनिक सवारी साधन अहिले सम्म चलेका छैनन् । चार महिना सार्वजनिक सवारी साधन नचल्दा पनि कारवाही भने गत वर्ष भन्दा कम नभएको ट्राफिक प्रमुख ढकालले बताए । ‘सुरुका महिनामा कारवाही धेरै थियो, लकडाउनले खासै सवारी चलेनन्, हामीले नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याएकाले राजस्व पनि बढेको हो ।’

ट्राफिक प्रहरीले नियमित चेकजाँच गरेकाले तोकिएको समयभन्दा बाहेक मूख्य बजार क्षेत्रमा लोड अनलोड गर्ने, सावरी चालक अनुमति पत्रबिना सवारी चलाउने, कागजात नबिकरण नगर्ने, क्षमता भन्दा धेरै यात्रु बोक्ने, निर्माण सामग्री ढुवानी गर्दा सुरक्षा मापदण्ड नअपनाउने जस्ता क्रियाकलापमा संलग्नलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । गत आर्थिकवर्ष २०७६/०७७ मा सबैभन्दा धेरै मोटरसाईकल चालक कारवाहीमा परेका छन् । दुई हजार नौ सय ३८ वटा मोरसाईकललाई कारवाही गर्दा २१ लाख ८९ हजार रुपैयाँ राजस्व ट्राफिक प्रहरीले संकलन गरेको थियो ।

दुई हजार दुई सय ५७ कार जिपबाट प्रहरीले १६ लाख ५४ हजार पाँच सय जरिवाना रकम राजस्व दाखिला गरेको छ । ट्याक्टरबाट ११ लाख ८३ हजार, ट्रक/टिपरबाट १३ लाख ३९ हजार, बसबाट १४ लाख ९० हजार जरिवाना रकम लिइएको ट्राफिक प्रहरी टिकाराम शर्माले बताए । आर्थिक वर्ष २०७५/७६मा भने सबैभन्दा धेरै ट्रक टिपर कारवाहीमा परेका थिए । तीन हजार तीन सय ९३ ट्रक टिपरबाट २३ लाख ३१ हजार पाँच सय जरिवाना उठेको थियो । दुई हजार एक सय ८३ मोटरसाईकल कारवाहीमा पर्दा १५ लाख ३१ हजार जम्मा भएको थियो । २०७४/७५ मा भने ११ हजार सवारी साधनलाई कारवाही गर्दा ७१ लाख ६० हजार जरिवाना ट्राफिक प्रहरीले संकलन गरेको थियो ।

वर्षेनी ट्राफिक प्रहरीले कारवाही संख्या र राजस्व बढाउँदै लगेपछि सर्वसाधारणले भने जरिवाना गर्ने गरी प्रहरीले कारवाही गर्ने गरेको गुनासो गरेका छन् । ट्राफिक प्रहरीले भने समान्य गल्ती गरेकालाई सम्झाउँदा पटक-पटक अटेरी गरेपछि कारवाही गर्ने गरिएको जनाएको छ । २०७६ साउन देखि २०७७ असार सम्म १९ वटा दुर्घटना गोरखामा भएको छ । यी मध्ये सात जना पुरुष र एक महिलाको मृत्यु भयो भने २७ जना गम्भिर घाईते भए । मादक पदार्थ सेवन गरेका कारण गत वर्ष ८२ जना कारवाहीमा परेको ट्राफिक प्रमुख ढकालले बताए ।

‘यस वर्ष हामी सवारी नियम पालना गराउन चेतनामुलक कार्यक्रम सँगै कारवाहीलाई पनि निरन्तता दिनेछौँ’ उनले भने । गोरखा सदरमुकामको मूख्य बजार क्षेत्रसाँघुरो भएकाले पार्कीङ ब्यवस्थापन, सावरी चाप हुने समयमा लोडअनलोडको समय तालिका पालना गराउने, मोटरसाईक चालकलाई सवारी नियम पालना गरेर मात्रै चलाउन लगाउमा जोड दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्