| शनिबार, कार्तिक २८, २०८३

हिमाली क्षेत्र विकास केन्द्रद्वारा आठ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

दरौँदी समाचारदाताः हिमाली क्षेत्र विकास केन्द्र नामक एक गैरसरकारी सँस्थाले गोरखाका दुर्गम भेगमा आठ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ ।
गाउँकार्यपालिका कार्यालयसँग समन्वय गरी हिमाली क्षेत्र विकास केन्द्रले सिरानचोक, अजिरकोट, बारपाक सुलिकोट, आरुघाट र चुमनुब्री गाउँपालिकामा आठ वटा झोलुङ्गे पुल निर्माण गरेको सो संस्थाका बीरबल घलेले जानकारी दिए ।

यो बर्ष सिरानचोक गाउँपालिकाको साठीमुरे लाङदी खोला झोलुङ्गेपुल, अर्कुल दरौँदीखोला झोलुङ्गेपुल, अजिरकोट गाउँपालिकाको लिलिखोला, युनेखोला झोलुङ्गेपुल, बारपाक सुलिकोट गाउँपालिकाको बाह्रमुले स्तुल खोला, बाहुनबेशी स्तुल खोला झोलुङ्गेपुल, आरुघाट गाउँपालिकाको ठोटनेरी खोला झोलुङ्गेपुल, चुमनुब्री गाउँपालिका को नामसाङ खोला झोलुङ्गेपुल र लंगाछेता बुढी गण्डकी झोलुङे पुल गरी जम्मा ८ वटाको निर्माण कार्य सम्पन्न भएको हो’, घलेले भने ।
झोलुङ्गे पुलको निर्माणका लागि सो सम्बन्धी प्राविधिक तथा सामाजिक संगठनात्मक कार्य गर्ने जिम्मेवारी आफ्नो संस्थाको रहेको उनले बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभाग र स्वीस सरकार विकास सहयोग अन्तर्गत टे्रलब्रिज सपोर्ट युनिट (टिबिएसयु), हेल्भेटास, स्वीस ईन्टरकोपरेसन(आरटिएपी)ले स्थानिय गाउँपालिका तथा नगरपालिकासँगको सहकार्यमा सो पुल निर्माण कार्यक्रम अघि बढाउने घलेले बताए ।

कोरोना महामारीको संकटका बाबजुद पनि अझै विभिन्न गाउँपालिकाहरुमा १७ वटा झोलुङे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको र आगामी असोज महिनासम्ममा सबै सम्पन्न गर्ने सो संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्