| शनिबार, कार्तिक २८, २०८३

लायन्स क्लवद्वारा पश्चिमकालीमा वृक्षारोपण, रोपिएका विरुवाको संरक्षण गर्ने प्रतिवद्धता

लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखा कालीका र लियो क्लव अफ गोरखाले शनिबार पश्चिमकाली क्षेत्रमा वृक्षरोपण गरेको छ ।

बिगतदेखि गर्दै आएको वृक्षरोपण कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिइएको लायन्स क्लव अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठले जानकारी दिए ।

गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले वृक्षरोपण गरी सो कार्यक्रमको उद्घाटन गरेका थिए । सो कार्यक्रम अन्तर्गत ६० वटा विरुवा रोपिएको थियो । ‘यसपटक फलफूलको बिरुवा समेत रोपिएको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘आँप, लिची, गुलमोहर, तेजपातलगायतका विरुवा रोपिएको छ ।’ रोपिएको बिरुवाको संरक्षण गर्ने बारे पनि क्लवले योजना बनाएको श्रेष्ठले बताए ।

‘कसरी संरक्षण गर्ने भन्ने योजनाचाहिँ बनाउँनै छ । तर अब हामी स्थानीयबासीको सहभागितामा यसअघिदेखि रोपिएका बिरुवाको समेत संरक्षण गर्दै जाने निश्कर्षमा पुगेका छौं’, अध्यक्ष श्रेष्ठले भने, ‘यहाँ रोपिएको बिरुवाको रेखदेख होओस् भन्ने हेतुले प्रत्येक महिनाको नियमित मिटिङ पनि पश्चिमकालीमै गर्ने निर्णय भएको छ ।’ विरुवामा उनीहरुकै नाम अंकित गर्ने योजनाअनुसार क्लवले यसअघि प्रतिव्यक्ति रु १५०० का दरले रकम संकलन गरेको थियो ।

सो रकमले दीगो रुपमा विरुवा संरक्षण गर्ने क्लवको योजना थियो । तर रकम दिने प्रतिवद्धता गरेका १५८ जनामध्य जम्मा ५४ जनाले मात्र रकम दिएपछि सो योजना सफल हुन नसकेको क्लवका अध्यक्ष श्रेष्ठले बताए ।

लायन्स क्लव अफ गोरखा कालीकाले पनि महेन्द्रज्योति मावि, चिल्ड्रेनपार्क लगायतका ठाउँहरुमा वृक्षारोपण गरेको थियो । संरक्षण अभावमा रोपिएका विरुवा नष्ट भएपछि क्लवले संरक्षण गर्ने खाका तयार गरेको सो क्लवकी अध्यक्ष रीता रेग्मीले जानकारी दिइन् ।

सो कार्यक्रममा लायन्स क्लव डिस्ट्रिक ३२५  बी वान नेपालका पदाधिकारीहरु दुवै लायन्स क्लव तथा लियो क्लवका पदाधिकारी तथा सदस्यहरु, पूर्वअध्यक्षहरुलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्