| शनिबार, कार्तिक २८, २०८३

गोरखाबाट राष्ट्रिय परिचयपत्रको विवरण भर्न सुरु

राष्ट्रिय परिचय पत्र निर्माणका लागि गोरखामा स्थायी विवरण दर्ता इकाइ स्थापना भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालयमा सो इकाइ निर्माण गरेका हुन् । सो इकाइका लागि कर्मचारी पनि छनौट भइसकेको छ ।

इकाइ तयार भएलगत्तै सोमबारदेखि नै राष्ट्रिय परिचय पत्र निर्माणका लागि विवरण भर्न सकिने कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए ।

परिचयपत्रमा जैविक र वैयक्तिक विवरण खुलाइएको हुन्छ । दस औंलाको छाप, आँखाको रेटिना, फोटो, दस्तखत लगायतका जैविक विवरण र नाम, बुबा, आमा, हजुरबा, हजुर आमा, पतिपत्नीको नाम, ठेगानालगायतका वैयक्तिक विवरण हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट आएका शिवकुमार बस्नेतले जानकारी दिए ।

अहिले विवरण संकलन गरे पनि परिचय पत्र कहिले पाइन्छ भन्ने बारे अहिले भन्न नसकिने उनले बताए ।
राष्ट्रिय परिचय पत्र बनेपछि सवारी चालक अनुमति पत्र(लाइसेन्स), मतदाता परिचय पत्रलगायतका सबै खालका परिचय पत्रको काम राष्ट्रिय परिचयपत्रले गर्ने बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्