| बिहिबार, साउन २२, २०७७

सफल अन्तरजातीय एक जोडी

शिव उप्रेतीः चौरजहारी ८ रुकुम पश्चिमकी सुष्मा मल्ल ठकुरीसित बिहे गर्न गएका जाजारकोटका प्रेमी नवराज विकसहित छ जनाको गत जेठ १० गते हत्या भयो । सिँगो मानव जातीलाई नै दुख्ने यो घटना चरम जातीय विभेदको नमूना बनेर स्थापित भएको छ ।

अन्तरजातीय बिहेकै सन्दर्भमा फरक अनुभूति गराउने एउटा घटना छ गोरखामा ।

आठ कक्षासम्म पढ्दा गोरखा नगरपालिका ३ आँपचौरका कृष्ण थापाले जातीय बिभेद अन्त्य भइसकेको थाहा पाएका थिए । कक्षाकोठामा शिक्षक, शिक्षिकाले जातीय भेदभाव अन्त्य भएको तिथिमितिसमेत रटाएका थिए ।

विद्यालयभित्र पनि खासै भेदभाव थिएन तर गाउँघरमा ठूलो जात र सानो जातका बीच ठूलै दरार महशुस गरेका थिए । फरक जातका बीच बिहे भएको पनि उनको नजरमा थिएन । त्यसैले उनले यसको अन्त्य गर्ने अभियान आफैबाट सुरु गर्ने अठोट गरे । ‘भन्ने बेलाचाहिँ जातीय भेदभाव अन्त्य भइसक्यो भन्ने, तर गाउँघरमाचाहिँ भेदभावको व्यवहार जताततै देख्न सकिन्थ्यो । त्यही भएर मैले यसको अन्त्यका लागि आफूबाटै पहल गर्ने निधो गरेँ’, त्यो बेलासम्म मेरो कसैसँग हिमचिम पनि बढेको थिएन, तर मैले दलित केटीसँग प्रेमबिबाह गर्ने अठोट गरेँ । मेरो निणर्य साथीहरुलाई पनि सुनाएको थिएँ ।’ साथीहरुले गर वा नगर केही सुझाव नदिएको उनले सम्झिए ।

त्यसपछि उनले घर नजिकैकी सरस्वती बिकसंग प्रेम सम्बन्ध स्थापित गरे । तीनबर्षसम्म सम्बन्ध रह्यो । २०६९ को असोजतिर अन्तरजातीय बिहे गर्ने सन्देश सुनाएका थिए । ‘घरपरिबारले त स्वीकार्ने कुरा थिएन, तर मैले साथीहरुलाईचाहिँ सुनाएको थिएँ । उनीहरुको सुझाव लिने हिसाबले होइन कि जानकारी दिने हिसाबले साथीहरुलाई भनेको थिएँ, ल है साथी हो, म यो नानीसित बिहे गर्दैछु भनेर’, उनले भने, ‘उनीहरुले लौ, हामी के भनौँ र तेरो आफ्नो निणर्य हो भनेर समर्थन गरेका थिए । तर सकेसम्म नजिकको नगरेको भए हुने भन्ने आशय साथीहरुबाट आएको थियो ।’

अन्तरजातीय प्रेम र बिबाह सम्बन्ध परिबारले स्वीकार नगर्ने बारे उनीहरु दुवैजना जानकार थिए । त्यसैले भागेर बिहे गर्ने योजना बनाए । ‘असोज २९ गते भागौँ भनेर मैले उनलाई सुनाएँ । उनले पनि हुन्छ भनिन् । मैले बाइक चलाउन जानेको थिएँ । त्यही बाइकमा हामी चितवन गयौं । ठूल्बुवाका छोरा एकजना बिष्णु थापा भन्ने दाइलाई चाहिँ सत्य कुरा बताएको थिएँ । उहाँ चितवनमै हुनुहुन्थ्यो । उहाँले जे भयो भयो, घर जा भन्नुभयो । यदि घर जान नसक्ने अबस्था नै हो भने सकेको सहयोग गर्छु भन्नु भयो । तर मसँग ४०, ५० हजार रुपैयाँ थियो । उहाँले आर्थिक सहयोग गर्नुपरेन । फेरि गाउँलेहरु हामीलाई खोज्दै आउलान् । प्रहरी लगाउलान्, बाटो छेक्लान्, छुटाउने षड्यन्त्र होला, बिभिन्न अप्रिय घटना घटाउलान् भन्ने डरले अरु साथीहरुलाई चाहिँ हामी भागेर पोखरा गएका छौं भनेर ढाँटेको थिएँ’, उनले भने, ‘दाइले घरतिर पनि खबर गरिदिनु भएछ । आमाबुबा, दाइ, दिदी, भिनाजुहरुले सक्छ भने एक्लै नसक्ने भए दुवै जना घर आए हुन्छ भनेर खबर पठाउनु भएछ । तर त्यत्ति छिट्टै गईहाल्न सकिएन । हामी चितवन, हेटौँडा, धरान, धनकुटा, पोखरा घुम्न गइयो ।’ पोखरा छँदा दुवै पक्षका आफन्तहरु भेला भई विन्दवासिनी मन्दिरमा पुरोहित लगाएर बिबाह गरेको उनले बताए ।

यतिबेला कृष्ण ११ कक्षा र सरस्वती नौ कक्षा पढ्थे ।

बिहे भएको १६ औं दिनमा उनीहरु घर फर्किए । परिबारले पनि ‘जेजे भयो भयो घरमा आइज’ भनेर बोलाइरहेकाले उनीहरुलाई घर फर्कन सजिलो भयो । ‘घर परिबारले पनि किन टाढा टाढा जान्छस्, आइज भनेर बोलाउनु भयो । म नआउँदै दाइले नै नयाँ बजारमा डेराको बन्दोबस्त गरिदिनु भयो । खर्च दिनुभयो’, उनले भने, ‘समाजले के भन्छ भन्ने त अझै थाहा छैन । कूलबाटै निकाल्नु पर्छ भन्ने पनि खलकमा निस्किएछन् । अग्रजहरु, टाठाबाठाहरुको एकदुई चोटी मिटिङ पनि बसेछ । कतिपय बेलामा त म आफै पनि मिटिङमा पुगेँ । म पुगेपछि प्रसंग मोडेर अरु अरु बिषयमा छलफल गर्थे ।’ यदि बिभेदको आवाज उठाए भने कानूनी लडाइँ लड्ने हिम्मत गरेकाले कसैले पनि बिरोध नगरेको उनले सुनाए ।

घर परिबार र साथीहरुको सहयोगका कारण आफ्नो अन्तरजातीय बिबाह सफल र सुखद रहेको उनको बुझाइ छ ।

अहिले उनीसँग पाँच बर्षको छोरा छ ।

रोजगारीका लागि विदेश जाने योजना बनाएका थिए, तर अन्तरजातीय बिहेका कारण यो योजना पनि पूरा हुन सकेन । ‘अन्तरजातीय बिहे गरेको छु । म विदेश गएँ भने यहाँ फेरि अर्को खेल सुरु होला भन्ने डर भयो त्यसैले म उनलाई एक्लै छोडेर विदेश जान सकिन’, थापा भन्छन्, ‘युवा स्वरोजगार कार्यक्रम अन्तर्गत एकलाख रुपैयाँ निकालेर होटल व्यवसाय सुरु गरेँ । त्यहाँ राम्रो हुन नसकेपछि काठमाडौ कोटेश्वरमा आठ महिनाजति मार्केटिङको काम गरेँ । त्यहाँ पनि राम्रो नहुने देखेपछि दाजुभाई र भिनाजु आर्थिक सहायता लिएर र सरस्वतीको गरगहना बेचेर किराना पसल गरेको छु ।’

गोरखा बजारमा बसे पनि दाजुभाइले कुलपूजामा बोलाए । अरुहरुले सरह व्यवहार गर्न सुरु गरेको उनको भनाइ छ । ‘म एकदुईबर्ष कुलपुजामा गइन । तर मेरै दाजुभाइले तँ आइज, तँ आउनु पर्छ । हाम्रो घरबाट कुलदेउताको थानमा तँ जानुपर्छ । कसैले केही नराम्रो व्यवहार गरे भने हामी छौँ भनेर घरबाट बुबाआमा, दाजुभाइ, दिदी भिनाजुले बोलाउनु भयो’, उनी भन्छन्, ‘अहिले भूकम्पको अनुदानले गाउँमा घर पनि बनाएको छु । इष्टमित्र, कुलकुटुम्ब सबै आउने जाने, बस्नेखाने भएको छ ।’ थापा खानदानका १६, १७ जना दाजुभाई सबै जना आफ्नो पक्षमा एकजुट भएको उनी बताउँछन् । ‘अहिले पनि एकदुई जना कुरा काट्ने त छन्, तर यसलाई चलायो भने कानूनी उपचारमा जान्छ भनेर मेरो अन्तरजातीय बिबाहको बिरोधमा कोही केही बोल्न सक्दैनन्’, उनी भन्छन् ।

अन्तरजातीय बिहे गरेकोमा सरस्वतीलाई पनि गर्व छ । उनलाई पनि माइती पक्षबाट पूरापूर साथ र सहयोग छ । ‘हामीले बिहे गरिसकेपछि यदि क्यै गरी केटा पक्षबाट छुटाउने काम भयो भने न्याय पाउँ भनेर माइती पक्ष गएर प्रशासन कार्यालयमा उजुरी दिनु भएको थियो’, उनी भन्छिन्, ‘तर अहिले घरपक्ष, माइतीपक्ष सबैतिरबाट साथ सहयोग छ । खुशी छौं ।’

प्रतिक्रिया दिनुहोस्