| शनिबार, कार्तिक २८, २०८३

लगातार वर्षात, किसानलाई रोपाईको चटारो, गत वर्ष भन्दा दुई हजार हेक्टरमा धान खेती बढ्यो

दरौँदी समाचारदाताः गत वर्ष भन्दा यस वर्ष मनसुन चाँडै सक्रिय भएसँगै गोरखामा धमाधम रोपाई चलिरहेको छ । १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गोरखामा करिब पाँच हजार भन्दाबढि (४५प्रतिशत) रोपार्इँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

‘गत वर्ष यो सिजनमा १५ प्रतिशत खेतमा रोपाईँ भएको थियो’, ज्ञान केन्द्रकी प्रमुख मनिता थापाले भनिन्, ‘अहिले वर्षातले गर्दा छिटो रोपाइ भयो ।’ गत वर्ष १० हजार हेक्टरमा धान खेती भएकोमा यस वर्ष दुई हजार हेक्टर थप जमिनमा खेती हुने दावी ज्ञान केन्द्रको छ । ‘धान जोन, सुन्तला जोन, कृषि ज्ञान केन्द्र, सिंचाई सबडिभिजन, स्थानीय तहले सिंचाईलगायत किसानलाई विविध सुविधा प्रदान गरेका कारण रोपाइँ हुने जमिन थपिएको हो’ केन्द्रकी प्रमुख थापाले भनिन् ‘चक्लाबन्दी गरेर खेती गर्न थालिएको छ । यसले पनि उत्पादन बढाउँछ ।’ कृषि ज्ञान केन्द्रको कार्यक्रम मार्फत चालुवर्ष दुई सय ५० हेक्टर थप जमिनमा सिंचाई सुविधा बिस्तार भएको छ ।

पहाडी र उच्च हिमाली हावापानी रहेको गोरखामा खेती हुनेमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिंचाई सुविधा पुगेको छ । ७१ प्रतिशत जमिनमा आकाशको पानी पर्खेर धान रोप्नुपर्ने बाध्यता किसानलाई छ । ‘रोग किरा लागेन भने यो वर्ष जिल्लाभर धान उत्पादन ५० हजार मेन्ट्रिक टन हुन्छ’, कृषि ज्ञान केन्द्रकी प्रमुख थापाले भनिन् ‘गत वर्ष भन्दा पाँच हजार मेट्रिक टन धान धेरै फल्छ भन्ने अनुमान गरेका छौँ ।’ यस वर्ष बन्दबन्दीको कारण बाँझो खेत धेरै रोपिएका छन् । जनशक्ति गाउँघरमै रहेको र लकडाउनको प्रभाव खाद्यान्नमा पर्न सक्ने भन्दै गोरखामा सबैजसो स्थानीय तहले कृषिमा लगानी बढाएका छन् । साथै बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन गर्ने, मल, बिउमा अनुदान दिने कार्यक्रमले धेरै वर्षदेखि बाँझो रहेका खेत पनि रोपिएको कृषि प्राविधिकहरु बताउँछन् ।

गोरखामा धान उत्पादन बढे पनि खपत अनुसार उत्पादन बढेको छैन । जिल्लामा उत्पादन भएको मध्ये १२ प्रतिशत चामल बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ । ‘यहाँ उत्पादन भएको चामलले करिब नौ महिना सहजै पुग्ने देखिन्छ’ उनले भनिन् । गोरखाका किसानले उन्नत जातको धान लगाउने क्रम बढ्दो छ । रामधान, सावित्री लगायत उन्नत जात र झिनुवा, अनादी जस्ता रैथाने जातका धान किसानले धेरै लगाएका छन् । ‘पानी कम लगाएपनि हुने जातका धान खोज्ने किसान धेरै हुनुहुन्छ’ केन्द्र प्रमुख थापाले भनिन् ‘लकडाउनको प्रभावले त्यस्ता खाले बिउ यस वर्ष गोरखामा आएन ।’

यसअघिका वर्षजस्तै यस पटक पनि धान लगाउने बेला किसानले मल अभावको समस्या झेल्नु पर्‍यो । मकैमा रासयनिक मल हाल्न नपाएका किसानले रोपाइ सुरु हुँदा पनि सहजै मल पाएनन् । ‘मकैमा राख्दा देखि धानको लागि जम्मा गरेर किसानले राख्ने गरेकाले रोपाइमा खासै अभाव भएन’ थापाले भनिन् । गोरखाका ठुला फाँटहरुमा ट्याक्टरबाट रोपाइ हुने गरेको छ । पछिल्लो समय कृषिमा आधुनिकिकरण, यान्त्रिकरण बढाएसँगै ट्याक्टरबाट रोपाईँ गर्ने प्रचलन बढेको हो । स्थानीय तहहरुले किसानलाई मिनि टिलर (हाते ट्याक्टर) अनुदानमा दिने क्रम बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्