
मनसुन सक्रिय भएसँगै आउने विपद्का लागि तयारी सुरु
दरौँदी समाचारदाताः जिल्ला दैविप्रकोप उद्वार समितिको मंगलवार सदरमुकाममा बसेको बैठकले मनसुन सक्रिया भएसँगै आउने विपद्कालागि तयारी गर्ने निणर्य गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ सहित, स्थानीय तहका प्रमुख, कार्यालय प्रमुख, गैरसरकारी संस्थाका प्रमुखहरु सहभागी बैठकले वर्षातका कारण आउनसक्ने बिपत्तीको सामना गर्न सबै पक्षलाई सक्रिय हुन आह्वान गरेको हो । बाढी पहिरो, महामारी जस्ता विपदजन्य घटनाको रोकथाम राहत उद्वारका लागि स्थानीय तह, सरकारी कार्यालय, रेडक्रस, संचार माध्यम, संघ संस्थालाई बैठक मार्फत आह्वान गरिएको छ । विपदका घटनामा तत्काल खटाउने गरी तत्काल उद्धार समुह निर्माण गर्ने, स्थानीय तहको बिपद् ब्यवस्थापन समितिलाई सक्रिय बनाउने, बिपद्का कारण बिस्थापितलाई राख्ने ठाउँको पहिचान गर्ने, जोखियुक्त ठाउँ हेरेर बस्ती स्थानान्तरण गर्ने, पूर्व सुचनाको माध्याम प्रयोग गर्ने जस्ता निणर्य बैठकले गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । बिपदका कारण मूख्य सडक रोकिन सक्ने संभावनालाई ध्यान दिँदै सडक कार्यालय, जलस्रोत तथा सिंचाई डिभिजन र खानेपानी तथा सरसफाई कार्यालयलाई समन्वय गर्न भनिएको छ ।
सबै सुरक्षा निकायमा तत्काल उद्धार समुह गठन गर्ने, मनसुनका कारण फैलन सक्ने महामारीलाई ध्यान दिँदै आवस्यक सावधानी र जनशक्ति तयार गर्न स्वास्थ्य कार्यालयलाई दैविप्रकोप उद्धार समितिले अनुरोध गरेको छ । बन डिभिजन कार्यालयको समन्वयमा पहिरो बग्ने क्षेत्रमा रोकथामका लागि वृक्षारोपण गर्ने, पूर्वाधार निर्माणमा एकिकृत पद्धती लागु गर्ने, प्रदेश स्तरीय बिकास निर्माणको काम सञ्चालन गर्दा स्थानीय तहको समन्वयमा गर्न अनुरोध गर्ने निणर्य बैठकले गरेको छ ।
साथै बाँदर ब्यवस्थापन गर्न उपकरणमा प्रयोग हुने केमिकलका लागि प्रदेश र संघिय सरकार सँग अनुरोध गर्ने निणर्य भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारीले बताए ।




