| शनिबार, कार्तिक २८, २०८३

सिर्दिबासको घट्टेखोला पुग्यो सडक, आउँदो हिउदमा मोटर गुड्ने

दरौँदी समाचारदाताः निर्माणाधीन बेनिघाट आरुघाट लार्के सडक सिर्दिबासको घट्टेखोला पुगेको छ । नेपाली सेनाले बिगत चारबर्षदेखि निर्माण गरिरहेको सो सडक सिर्दिबासको घट्टेखोला पुगेको हो ।

‘टूयाक खन्ने काम घट्टेखोलासम्म पुगेको छ’, नेपाली सेनाका सडक निर्माण कार्यदलका प्रमुख मेजर निशान्त क्षेत्रीले भने, ‘हावाडाँडासम्म मेसिन पुगेको छ । अब आउँदो हिउँमा त्यहाँसम्म ट्याक्टर, जीप पुग्न सक्छ ।’ नेपाली सेनाले गत २०७४ सालको बैशाख ११ गतेदेखि सो सडक निर्माण आरम्भ गरेको थियो ।
चारबर्षको अवधिमा थुमीको हावाडाँडादेखि ३१ किलोमिटर सडक निर्माण गरिएको मेजर क्षेत्रीले जानकारी दिए । ‘चारबर्षको अवधिमा ६० करोड ७५ लाख रुपैयाँ खर्च भइसकेको छ’, उनले भने, ‘३१ किलोमिटर सडकको टूयाक खन्ने काम भएको छ ।’

बेनिघाटदेखि आरुघाट हुदै लार्केसम्मका लागि निर्माण सुरु गरिएको सो सडक हावाडाँडादेखि माथिल्लो भाग निर्माण गर्न चार बर्षअघि सडक बिभागले नेपाली सेनालाई हस्तान्तरण गरेको थियो । ठूला पहराहरु फुटाएर सडक निर्माण गर्न सेनालाई सहज हुने भन्दै सेनालाई जिम्मा दिइएको थियो ।

सेनाले प्रोकको नाम्रुङसम्म निर्माण गरेपछि त्यहाँबाट रुईलासम्म प्रदेश सरकारले बनाउने तयारी गरेको छ । गत तीनबर्षअघिदेखि प्रदेश सरकारले बजेट बिनियोजन गरे पनि निर्माणको काम भने गर्न सकेको छैन ।

गतबर्ष सर्भे गरेपनि इआइए गर्न नसकेका कारण काम सुरु हुन नसकेको भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्