| शनिबार, कार्तिक २८, २०८३

बिपदमा परेकालाई सरकारले लुट्यो

शिव उप्रेतीः गोरखा नगरपालिका ६ का स्वप्निल मास्के गत बुधबार राती एक बजे अस्ट्रेलियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे । यसअघि आउने जाने दोहोरो टिकटको ९० हजार रुपैयाँ तिर्दै आएका उनले यसपटक आउन मात्रै एकोहोरो टिकटको एकलाख ९७ हजार रुपैयाँ तिर्नुपर्‍यो ।

लगातार दुईपटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनले नेपाल आउने अनुमति पाएका थिए ।

बिभिन्न चेकजाँच र फाराम भराउने नाउँमा उनीजस्ता २५८ जनालाई एयरपोर्टभित्रै तीन घण्टा अल्मल्याइयो । ‘प्लेनभित्र पनि कोचेर ल्याएको थियो’, मास्के भन्छन्, ‘तर ओर्लिएपछि फोटो खिचाउन सामाजिक दुरी कायम गराए । अनि एउटै बसमा कोचाकोच गरेर यात्रुलाई होल्डिङ सेण्टरमा लगे ।’ महंगो भाडा असुलेर पनि व्यवस्थापन पक्षले १४ घण्टाको उँडानमा चाउचाउ र तातोपानी मात्र खान दिएको, होल्डिङ सेण्टरमा पनि एक बोत्तल पानी बाहेक केही खान नदिएको उनले गुनासो गरे । ‘हामी त युवा हौं, केही भएन, बुढापाका धेरै जना थिए । उनीहरुलाई धेरै सकस भयो’, उनले भने ।

दुई घण्टा त्यहाँ भुलाएपछि गण्डकी प्रदेश आउने २१ जनाका लागि एउटा बस आयो । ‘हामीले त सोचेका थियौँ, सेनाले व्यवस्थापन जिम्मा लिएको हुँदा सेनाको बस आउँछ भनेर, तर टूाभल एजेन्सीको बस आयो । अनि आँबुखैरेनीमा झरेपछि दुईदुई हजार रुपैयाँ माग्यो । दियौँ ।’ काठमाडौंबाट गोरखासम्म तीनसय ५० रुपैयाँ भाडा लाग्नेमा दुईहजार तिर्नुपरेकोमा उनले आपत्ति जनाए ।

‘यो त बिपत्तिका बेला लुट्ने काम भयो’, उनले भने, ‘प्लेनमा पनि सँधैको भन्दा दोब्बर भाडा तिर्नुपर्ने, बसमा पनि सात गुना बढि भाडा तिर्नुपर्ने किन ? सरकारले जनतालाई दुख परेको बेला राहत दिने कि लुट्ने ?’

बहराइनबाट भर्खरै नेपाल आएका गोरखा नगरपालिका ६ का गौरब मास्केलाई पनि बिपदको मौका छोपेर सँधैभन्दा दोब्बर भाडा असुल्यो । ‘सँधै २४, २५ हजार भन्दा बढि तिर्नुपर्दैनथ्यो तर यो बिपदका बेला सरकारले राहतस्वरुप ल्याइदिनु पर्ने हो नि’, उनका बुबा भगवानबाबु मास्के भन्छन्, ‘तर दोब्बर बढि ४७ हजार पाँचसय रुपैयाँ भाडा तिर्नुपर्यो । अनि काठमाडौंबाट गोरखा आउन पनि दुई हजार रुपैयाँ तिर्नुपर्यो । यो त सरकारको सरासर लुटाहा प्रवृत्ति भएन र ?’ नेपाली सेनाले गरेको व्यवस्थापन चित्तबुझ्दो नभएको उनको आरोप छ । ‘नेपाली सेनाले व्यवस्थापन गर्ने भनेपछि हामीले नेपाली सेनामार्फत नै फाराम भरेका हौं, तर प्लेन र बसमा यति धेरै भाडा कसरी तिर्नुपर्‍यो ?’, उनी भन्छन्, ‘दुखमा परेकाहरुसँग यसरी लुट्न पाइँदैन ।’

प्रतिक्रिया दिनुहोस्