
भिमसेनथापा गाउँपालिकाका १४ विद्यालय गाभिए
दरौँदी समाचारदाताः गोरखाको भिमसेन थापा गाउँपालिकाले १४ वटा विद्यालय गाभेको छ । विद्यार्थी संख्या थोरै भएका र नजिकै अर्को रहेका ठाउँका विद्यालय समायोजन गरिएको गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले बताए ।
‘गाउँपालिका भित्र विद्यार्थी संख्या थोरै भएका विद्यालय पहिचान गर्न छुट्टै समिति निर्माण गरेका थियौँ’ अध्यक्ष पाण्डेले भने ‘समितिको सिफारिसका आधारमा हामीले यो वर्षदेखि लागु हुने गरी विद्यालय समायोजन गरेका हौँ ।’ समायोजना हुनेमा कक्षा १ देखि ३ र १ देखि ५ सम्म चलेका विद्यालय छन् ।
बालकल्याण प्रावि मसेल, मुना प्रावि तान्द्राङ, सरस्वती सदन प्रावि तान्द्राङ, राचन्द्र प्रावि बगुवा, चण्डेश्वरी प्रावि अश्राङ रहेका छन् । यस्तै लक्ष्मीज्योती प्रावि बोर्लाङ, निमेल प्रावि मसेल, जनजागृति प्रावि अश्राङ, जनसेवा प्रावि तान्द्राङ रहेका छन् । बोर्लाङको भबावी प्रावि, सुन्दर प्रावि, दुधकन्या प्रावि बगुवा र शिवालय प्रावि नजिकको विद्यालयमा गाभिएका हुन् ।
‘सबैभन्दा कम रामचन्द्र प्राविमा ३ जना, जनसेवा प्राविमा ७ र भवानी प्राविमा ८ जना विद्यार्थी रहेको गाउँपालिका शिक्षा शाखाका लक्ष्मणबाबु आचार्यले बताए । अन्य विद्यालयमा भने १० भन्दा बढि विद्यार्थी थिए । ‘गाभिएको विद्यालयमा शिक्षक दरबन्दी पनि गाभिएको छ’ आचार्यले भने ।
गाउँपालिका भित्रका विद्यालयको शैक्षिक, भौतिक अवस्था सुधार गर्न, गाउँपालिकाको लगानी एकिकृत गरि गुणस्तरीय शिक्षा दिन विद्यालय मर्ज गरिएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण थापा बताउँछन् । ‘थोरै विद्यार्थी हुँदा पनि पूर्वाधार निर्माण गर्नुपर्ने, भबन खानेपानी, शौचालय, कम्पाउण्ड ब्यवस्थित गर्नुपर्छ’ प्रशासकिय अधिकृत थापाले भने ‘ती विद्यार्थीलाई अन्यत्र विद्यालयमा पठाउँदा एक ठाउँमा मात्रै पूर्वाधार बनाउँदा पनि धेरै विद्यार्थीले सेवा लिन सक्छन् ।’ विद्यालय मर्ज गर्दा नजिकको विद्यालय पुग्ने दुरी र लाग्ने समयलाई पनि ध्यान दिइएको गाउँपालिकाले जनाएको छ ।




