
साम्दोबासी भन्छन्ः सुक्चेखोला यता तेका गुम्बा नि हाम्रै हो, रुई गाउँ नि हाम्रै हो
शिव उप्रेतीः सरकारले रुईगाउँ तिब्बतलाई सुम्पिएपछि भागेर साम्दोमा आई बसेका स्थानीयबासीले अहिले पनि आफ्नो थातथलो बिर्सेका छैनन् । समय समयमा रुईबासी पनि यता आउँछन्, साम्दोबासी पनि उता गइरहन्छन् ।
साम्दोका बासिन्दा रुईभन्दा दुईदिनको बाटो टाढा खाङ्सार बजारसम्म सामान किन्न पुग्छन् । उताका बासिन्दा पनि साम्दो, सामागाउँ, ल्हो, प्रोक, बिहीसम्म सामान बेच्दै आइपुग्छन् । दुवै गाउँका बासिन्दासँग सीमा वारपार गर्ने पुर्जी हुने साम्दो गाउँमा ३३ बर्षसम्म शिक्षण पेशा गरेर बसेका बेलबहादुर गुरुङ बताउँछन् ‘साम्दोका बासिन्दासँग उताको बोर्डरपास हुन्छ । रुईका बासिन्दालाई जस्तै उताको अस्पतालमा उपचार गर्ने सहुलियत पनि हुन्छ’ उनी भन्छन्, ‘उताका व्यापारीहरु पनि घोँडा, याकचौरी, झोपामा सामान बोकाएर ल्हो, बिही, प्रोकसम्म व्यापार गर्न आइपुग्छन् ।’ यी दुई गाउँका बासिन्दा लजुङ भञ्ज्याङको छोटोबाटो आवतजावत गर्ने उनी बताउँछन् ।
एउटै गाउँ छुट्टिएर दुईवटा हुनुपर्दा चित्त दुखेको साम्दोबासीको दुखेको छ । आफ्नो पैत्रिकथलो अहिले तिब्बतको अधिनमा हुँदा कसैको पनि चित्त नबुझेको स्थानीय निमा दोर्जे लामा बताउँछन् । ‘पहिले त हामी एउटै हो नि’ चुमनुब्री गाउँपालिका १ का निर्वाचित जनप्रतिनिधिसमेत रहेका उनी भन्छन्, ‘तर पछि चाइनाको भयो । नेपाल सरकारले आफ्नै गाउँ पनि किन तिब्बतलाई दियो ? किन दाबी गरेन ? हामीले केही बुझ्न सकिएन ।’ रुईको जमिन असाध्यै उर्वर भएकाले पनि साम्दोबासीले रुईलाई मन पराउने उनले बताए । ‘त्यहाँ सबैभन्दा ठूलो एउटा गुम्बा छ । फा तेगा गुम्बालाई बाउ गुम्बा भन्छन् । ल्होको बुनाक्छा गुम्बालाई छोरागुम्बा भन्छन् र बिहीको मामानिखाङ गुम्बालाई आमा गुम्बा भन्छन् । डोल्पा, मुस्ताङ, मनाङदेखिका लामा गुरुहरु त्यहाँ अध्ययन गर्न आउँछन् । सबैभन्दा ठूलो अध्ययन केन्द्र जस्तै हो त्यो गुम्बा तर नेपालले गुमायो ।’ रुई भोटभित्र चार वटा टोल छन् । सबैमा गरेर एकसय ७० घरधुरी रहेको उनले बताए ।
सरकारले वास्ता नगरेपछि आफूहरु चुपचाप भएर सहनु परेको स्थानीयको गुनासो छ । ‘यति ठूलो गाउँ छ, यति ठूलो गुम्बा छ, यता भन्दा राम्रो खेती हुने जमिन छ, तर सरकारले वास्तै गर्दैन । हामीले के गर्न सक्छौं र ?’ निमा भन्छन्, ‘पहिल्यैदेखि मुद्धा बनाइरहेको भए, अहिले व्युँताएर पाउन सकिन्थ्यो । अब ६० बर्षभन्दा बढि भइसक्यो । यतिबेला मुद्धा उठाएर के गर्ने ? चाइना सरकारसँग दुश्मनी गर्नुमात्रै हुन्छ ।’
नेपाल र तिब्बतको यसअघिको सीमाना सुक्नेखोला भएको ल्हो गाउँपञ्चायतका पूर्व उप प्रधानपञ्च तेञ्जिङ लामा बताउँछन् । ‘पहिलेको सीमाना त सुक्चे खोला हो । सुक्चेखोला भनेको मनाङको सीमानादेखि घुमेर प्रोक, नाम्रुङको पारिबाट गण्डकीमा झरेको छ । त्यो खोलाको घेराभित्र सबै नेपाल हो’, उनी भन्छन्, ‘त्यतिबेला किन डाँडामा पिलर गाड्न हुन्न भन्न नसकेको ? किन छोडेको हाम्रो सरकारले ? अब सरकारले दाबी गर्नुपर्छ । आफ्नो भूभाग लिनु पर्छ ।’
नेपालको रुईगाउँ एकाएक तिब्बतको भएपछि चिनियाँ साँस्कृतिक क्रान्तिको प्रभाव पर्न थाल्यो । त्यहाँका धार्मिक, सांस्कृतिक सम्पदा नष्ट पार्न थालियो । त्यसपछि भाग्न सक्नेजति गाउँले धार्मिक, साँस्कृतिक सम्पदा बोकेर साम्दोमा आई बसेका साबिक ल्हो गाविसका अध्यक्षसमेत रहेका उनी बताउँछन् । ‘चिनियाँ शासन कडा थियो । खप्न सक्नेजति बसे । खप्न नसक्ने र भाग्न सक्नेजति भागेर साम्दोमा आई बसे’, उनले भने, ‘पछि सन् १९८० तिर दिङ जियोपिङ राष्टूपति हुँदा शासन अल्लि नरम भएको थियो । त्यतिबेला साम्दोका बासिन्दा केही फर्केर रुई गएका थिए ।’ त्यतिबेलै नेपाल सरकारले छोड्न नहुने ठाउँ छोडेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
नेपाल चीन बीचको सीमा बिभाजन हतारमा भएको इतिहासका जानकार नवराज अधिकारी बताउँछन् । ‘रुईको मात्र होइन, नेपाल र चीन बीचको सीमा बिभाजन सबै ठाउँमा हतारमा गरेको देखिन्छ’, साम्दो पुगेर स्थलगत अध्ययन गरेका अधिकारी भन्छन्, ‘संयुक्त सीमा दल सम्बन्धित ठाउँमा पुग्न अल्छी गरे कि के गरे, त्यसैले यो अबस्था आयो ।’
सीमा प्रशासन कार्यालय सिर्दिबासका २०४२ सालका प्रमुख काशिनाथ मरासिनीले लेनदेनका आधारमा सीमा बिभाजन गर्दा नेपालको गाउँ तिब्बततर्फ परेको हुनसक्ने अनुमान गरे । ‘पूरै गहिराईमा गएर अध्ययन त गरेको छैन । तर कतिपय ठाउँ तिब्बतको नेपालतिर, कतिपय ठाउँमा नेपालको तिब्बततिर पारेर सीमा बिभाजन गर्दा यस्तो भएको हुनसक्छ’, उनले भने, ‘यो मेरो अनुमान मात्र हो, तर बिस्तृत जानकारी छैन ।’




