
लाप्राकमा इमानको सालिक ठडियो
धार्चे गाउँपालिका ४ लाप्राकको भूमेडाँडामा गोरखाका प्रथम सगरमाथा आरोही इमान गुरुङको सालिक स्थापना गरिएको छ । निर्माणाधीन इमान स्मृति पार्कमा ११ लाख ५० हजार रुपैयाँका लागतमा सालिक स्थापना गरिएको निर्माण समितिका संयोजक तुल्सिङ गुरुङले जानकारी दिए ।
ललितपुरका मूर्तिकार नरेन्द्रप्रसाद भण्डारीले ढलोटको सालिक निर्माण गरेका उनले बताए । मनास्लु फाउण्डेशनको अगुवाइमा धार्चे गाउँपालिका र नेपाल पर्वतारोहण संघको सहयोगमा इमान स्मृति पार्क तथा सालिक निर्माण गरिएको हो ।
‘इमान गुरुङ गोरखाका पहिलो सगरमाथा आरोही हुन् । उनले देखाएको बाटो हिडेर अहिले लाप्राकमा धेरैले सगरमाथा आरोहण गरिसकेका छन् । लाप्राकका जतिपनि पर्यटन क्षेत्रमा काम गर्छन्, उहाँकै सहयोग र सल्लाहअनुसार गरेका हुन्’, संयोजक गुरुङले भने, ‘उहाँ सन् २००५ मा मनाङको कङ्गारु हिमाल आरोहणको क्रममा हिउँ पहिरोले पुरिएर मृत्यू भयो । उहाँसँगै लाप्राकका आठजनाको पनि मृत्यू भयो । त्यसैले उहाँको स्मृतिमा पार्क बनाउनु महत्वपूणर् भएकाले पार्क बनाउन लागिएको हो ।’
पार्कभित्रै इमान स्मृति पर्यटन संग्रहालय पनि निर्माण गरिने सो वडाका वडाअध्यक्ष राज गुरुङले जानकारी दिए । पार्कभित्र तारबार, प्रतिक्षालय, नेपालकै पहिलो अन्तर्राष्टिूय पर्वतारोहण पथप्रदर्शक सुनार गुरुङ लगायतका गोरखाका सगरमाथा आरोहीहरुको प्रोफाइलसहितका फोटो ग्यालरी बनाउने योजना रहेको उनले बताए । ‘यसका लागि चालु आर्थिक बर्ष १० लाख रुपैयाँ बिनियोजन गरिएको छ’, उनले भने, ‘भूमेमन्दिरलाई सातलाख, टिकटघरलाई १२ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।’ कोरोना महामारी सकिएपछि उद्घाटन कार्यक्रम गरिने उनले बताए ।




