| बुधबार, असार ३१, २०७७

ऐनापहराको ओढारबाट सरिता चेपाङ परिबारको उद्धार

 

लकडाउनका कारण बिगत एकसातादेखि ओढारमा बस्दै आएका सरिता चेपाङ परिबारको उद्धार गरिएको छ ।

रखा आरुपोखरी निवासी पर्यटन व्यवसायी प्रेम खत्री तथा गोरखा बजारका समाजसेवी कल्पना श्रेष्ठले चेपाङ परिबारलाई उद्धार गरी घर पु¥याएका हुन् ।

उनीहरुलाई एम्बुलेन्स चढाएर आरुघाट ८ आरुपोखरीस्थित उनीहरुकै घर पठाइएको उद्धार कार्यमा सहभागी पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले जानकारी दिए । सहयोगीहरुले एम्बुलेन्सको व्यवस्था गरी खाद्यान्न, त्रिपाल, लत्ताकपडा र घरखर्चका लागि केही नगदसमेत दिएका उनले बताए । गोरखा बजारका व्यापारी विनोद बस्नेतले ओढ्ने, ओछ्याउनेको व्यवस्था गरेका थिए ।


लकडाउनका कारण दमौलीबाट घर फर्कदै गरेका उनको परिबार खैरेनीस्थित चेकपोष्टबाट प्रवेश गर्न नपाएपछि ऐनापहराभित्रको ओढारमा बस्दै आएका थिए । यस बिषयमा समाचार आएपछि सहयोगीहरुले उनका छ जनाको परिबारलाई उद्धार गरी पठाएका हुन् ।


समाचार यस्तो थियो ।

तनहूँको आँबुखैरेनी गाउँपालिका ३ ऐनापहरास्थित पृथ्वीराजमार्गमुनि खनिएको अण्डरग्राउण्ड नाला, नाला मस्र्याङ्दीमा खस्ने छाँगानेर अलिकति खालि जमिन । नालाको पानी मस्र्याङ्दीमा खसाल्न बनाइएको अण्डरग्राउण्ड पासमा सरिता चेपाङको छ जनाको परिबार बिगत पाँचदिनदेखि बसोबास गरिरहेका छन् । उनीहरुको ओछ्यानको छेउपट्टि ह्वाङ्गै, करिब २० मिटर तल बगर पनि नछोडेर गढ्गढाइरहेको मस्र्याङ्दी ।

सिरानीमा आधा बोरा चामल, एक छेउमा चुल्ढुङ्गो । ओछ्याउनका लागि केही थाङ्ना । यही थाङ्नामा सरिताको छ जनाको परिबार रात काट्ने गर्छन् ।

उनीहरु आरुघाट गाउँपालिका ८ आरुपोखरीका हुन् । दमौलीमा घर बनाउने काम गरेर परिबार पाल्दै आएका थिए । सञ्चित खर्चले अढाइ महिनासम्म धान्यो । लकडाउनले काम गर्न नपाएपछि उनीहरु आरुपोखरी जान भनी गत नौ गते पैदल हिँडेका थिए ।
‘किन यहाँ आएर बस्नु भा ?’
‘खैरेनीको पुलबाट प्रहरीले गोरखा छिर्न दिएन । खैरेनी बजारमा कहीँ पनि बास बस्न पाइएन । बास खोज्दैखोज्दै आउँदा यहीँ आइपुगियो ।’
पहिलो दिन डुम्रे भन्सारमा बास बसेका थिए । भोलिपल्ट त्यहाँबाट हिडेर खैरेनीको पुलमा आइपुगे । मस्र्याङ्दी पुलबाट गोरखा छिर्न नपाएपछि ऐनापहरा हुदै चाइनाक्याम्पमा बस्न पुगेका थिए ।
‘क्याम्पनेरको मन्दिरको पेटीमा सुत्न लागेका थियौं । प्रहरीले बस्नै दिएन । दुई बर्षको बच्चा लिएर यो राती कहाँ जाने ? आज एकरात मात्र बस्न दिनुस् । भोलि अन्तै जाउँला भनेर हात जोडेर आर्मीलाई भन्यौं । त्यो रात त्यहीँ कटायौं । अनि भोलिपल्ट बिहानै उठेर यहाँ आएर बसेका हौं’, सरिताले भनिन् ।
३० बर्षकी सरिता, उनकी आमा, छ बर्ष र १५ बर्षका दुई वटी बहिनी, सरिताका श्रीमान ३५ बर्षका चित्रबहादुर, दुई बर्षका एक छोरा र आठ बर्षकी छोरी र चित्रबहादुरका दाइ गरी डुम्रेभन्सारबाट आउँदा आठ जना थिए ।
तर बाटोमा आउँदा आउँदै सरितालाई अर्को बिपद आइप¥यो । चित्रबहादुरका दाइ र सरिताको आमाको बाटोमै माया प्रेम बस्यो र बाटोबाटै भागे ।
‘डुम्रेभन्सारमा बास बस्दा एउटै ओछ्यान भएछ । भोलिपल्ट मन्दिरको पेटीमा पनि ओछ्यान एउटै भएछ । नाति नातिनी भइसकेको मान्छे, जे भए पनि हामी छोरी, नाति, नातिनीको इज्जत त राखिदिनु प¥यो नि भनेर मैले आमालाई गाली गरेँ । बुढाले पनि दाइलाई कराउनु भयो । अनि दुवैजना भागे ।’
सरिताको माइत इच्छाकामना गाउँपालिकाको कुरिनटारमा पर्छ । त्यहाँबाट एकदिन हिडेपछि उनीहरु कुरिनटार पुग्न सक्छन् तर आमाको बिहेका कारण अब कुरिनटार जाने उनीहरुको बाटो छेकियो । आमा पोइल गएपछि उनलाई दुइटा बहिनीको स्याहार सम्भार गर्ने जिम्मेवारी पनि थपियो ।
‘बाउ लँगडो छन् । साख्खै आमा पहिल्यै पोइल गइन् । यो कान्छी आमा हो । कान्छीआमा पनि अहिले पोइल गइन् । अब यी बहिनीहरु लिएर म कुन मुखले माइत जाने ? बहिनीहरु पनि जान मान्दैनन् । बरु लकडाउन खुलेपछि जहाँ जे काम पाइन्छ, त्यही काम गर्ने भनेर यतै बसेको हो’, सरिताले भनिन्, ‘बहिनीले होटलमा काम गरेको पैसाले फुली बनाएर लगाएकी थिई । रोडमा सुत्नु परेको छ, नाक कानको गहना जोगाउनु पर्छ भनेर फुकालेर आमालाई राख्न दिएको थिएँ । त्यो सबै लिएर गइछन् । आफू नि गइन्, बहिनीहरु पनि मलाई घाँडो बनाएर छोडिदिइन् । अब माइत जाम्, सौताने भाइ छ । तैँले मेरो आमालाई कहाँ पठाइस् भन्ला । बाउले खै आमा भन्ला । न माइतको शरणमा जान पाउने भयो, न घर जान पाउने भयो । बरु यतै बसौं, जुन बेला गाडी चल्छ, त्यही बेला यतै काम खोजेर खाने भनेर यहाँ बसेको ।’

कतैपनि जान नपाएपछि ओढारमा सकसको जिन्दगी बिताउनु परेको चित्रबहादुर बताउँछन् ।
‘घर जाउँ भने खैरेनी पुलमा पुलिस । ससुराली जाउँ पनि मुग्लिन पुलमा पुलिस । त्यैँमाथि दाइले सासु भगाइदियो । अपाङ्ग ससुरालाई के भनेर चित्त बुझाउने ? चौतारा, मन्दिर कतै पनि बस्न पाइएन । यो ओढारमा कतिदिन बसुँ ?’ उनले भने ।
दमौलीबाट निस्कने बेलामा ठेकेदारले दिएको दुईसय रुपैयाँ बाटो खर्च सकिएपछि बिखची भएको उनले बताए ।
‘खैरेनीका बाबुराम दाइले तीनकिलो चामल, नूनतेल दिए । त्यो पनि सिद्धिन लाग्यो । अर्का साहुले पकाउने भाँडा दिए । त्यही भाँडामा नून, बेसार हालेर भात पकाउँछौं । अहिलेसम्म त मागेरै चलिरहेको छ ।’
‘यस्तो बेलामा किन निस्किएर आएको त ?’
‘के गर्ने त ? त्यहाँ बसेर काम गर्न पाइएन । भएको खर्च पनि सकियो ।’
‘गाउँमा संपर्क भएको छैन ?’
‘गरेको हो । गाउँमा आयो भने आरुघाट स्कूलमा लगेर थुन्छ रे । बरु यतै काम खोजेर खाने भनेर यहाँ लुकेर बसेको हो । यिनीहरुलाई कुरिनटार पु¥याइदिन पाए नि म वनवनै भागेर घर पुग्थेँ ।’
‘ओछ्यानबाट लड्यो भने त सिधै मस्र्याङ्दीमा खस्ने रहेछ ।’
‘खस्दैनन् । बालखाहरुलाई कुनामा सुताउँछौं । हामी बुढाबुढी छेउमा । म रातभरि निदाउँदै निदाउँदिन ।’
‘राती दिसापिसाब लाग्यो भने नि ?’
‘मलाई बोलाउँछन् ।’
‘राती चल्दैनन् ?’
‘चल्दैनन् ।’
‘राती उठेर हिड्दैनन् ?’
‘हिड्दैनन् ।’
‘बाछिटाले हान्छ ?’
‘हान्छ नि । आधा ओछ्यानसम्म भिजाउँछ । यी लालाबालालाई निमोनिया होला भन्ने पिर छ । साह्रै सकस छ ।’
‘बाहिर बसेको भए हुन्थ्यो नि ।’
‘ओत लाग्ने पाल भएको भए त हुन्थ्यो । पाल पनि छैन ।’
२० गते लकडाउन खुल्ने र काम खोजेर खाने आशामा सरिताको परिबार मस्र्याङ्दीको किनारमा डर, त्रास, भोक, प्यास खेपेर बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्