| शनिबार, कार्तिक २८, २०८३

आरुघाट गाउँपालिकाले कृषि मलमा ढुवानी अनुदान दिने

 

कृषकलाई सदरमुकामकै भाउमा घरघरमै मल उपलब्ध गराउने उद्देश्यले गोरखाको आरुघाट गाउँपालिकाले कृषि मल ढुवानी गर्न अनुदान दिने भएको छ । गत वैशाख २९ गतेको कार्यपालिका बैठकले कृषि सहकारी संस्थाको कार्यालयसम्म मल ढुवानी गरेको खर्च गाउँपालिकाले ब्यहोर्ने निर्णय गरेको अध्यक्ष पूर्ण दाहालले जानकारी दिए ।

कृषि मल ढुवानीमा अनुदान दिने गोरखाको यो पहिलो गाउँपालिका हो ।

व्यापारीले मल ल्याएर कालोबजारी गर्ने समस्या अन्त्य गर्न सहकारीलाई मल ढुवानी खर्च दिने निर्णय गरिएको उनले बताए । ‘भर्खर निर्णय गरेर वडाअध्यक्षहरुलाई आवश्यक मलको तथ्याङ्क संकलन गर्ने जिम्मेवारी दिइएको छ’, अध्यक्ष दाहालले भने, ‘त्यसपछि मलको कारोबार गर्न चाहने कृषि सहकारी संस्थालाई ढुवानी खर्च दिनेछौं । यसो भएपछि किसानले नारायणघाट वा वीरगञ्जकै भाउमा मल पाउनेछन् ।’ किसानलाई राहत दिने उद्देश्यले निर्णय गरिएको उनले बताए ।

दसवटै वडामा करिब पन्द्रसय बोरा मल आवश्यक पर्ने अनुमान गरेर गाउँपालिकाले निर्णय गरेको उनले बताए ।

अहिले सहकारीको नाउँमा व्यापारीले मल ल्याएर मनोमानी भाउमा मल बिक्री गरिरहेका छन् । सदरमुकाममा प्रतिबोरा नौसय ५० रुपैयाँमा पाइने मल आरुघाट गाउँपालिकाका बिभिन्न गाउँमा सोह्रसय रुपैयाँसम्ममा बिक्री भएको गुनासो आएपछि कार्यपालिका बैठकले एकरुपता कायम गर्न यस्तो निर्णय गरेको अध्यक्ष दाहालले बताए ।

गोरखामा हाल उपभोक्ता सहकारी जिल्ला संघ र जनमुखी उपभोक्ता सहकारी संघले मात्र मल ल्याएर गाउँगाउँका सहकारीहरुलाई उपलब्ध गराउने गरेका छन् । दुईवटा सहकारीले मात्र आवश्यक मात्रमा मल उपलब्ध गराउन नसकेकाले कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेशनसंग पनि कारोबार गर्न पाउनु पर्ने अध्यक्षले दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्