
श्रेष्ठ दम्पतिद्वारा कुसुण्डालाई खाद्यान्न सहयोग
कोरोना संक्रमण फैलन नदिन आव्हान गरिएको ४१ दिन लामो लकडाउनका कारण खाद्यान्न अभाव झेलिरहेका कुसुण्डा परिबारलाई गोरखाका श्रेष्ठ दम्पतिले खाद्यान्न सहयोग सामग्री प्रदान गरेका छन् ।
गोरखा नगरपालिका १०, तेह्रकिलोमा बस्दै आएका सुमित्रा कुसुण्डाको परिबारलाई गोरखा नगरपालिका ७ नयाँबजारका श्यामबाबु श्रेष्ठ र कल्पना श्रेष्ठले दाल, चामल, नून, तेल, च्यूरा, बिस्कुटलगायतका खाद्य सामग्री प्रदान गरेका हुन् ।
लकडाउनका कारण कामबिहिन हुँदा कुसुण्डा परिबारलाई छाक टार्न समस्या भएको बारे दरौंदी अनलाइनमा समाचार प्रकाशन भएपछि खाद्यान्न सामग्री सहयोग गरिएको श्यामबाबु श्रेष्ठले जनाए । ‘दैनिक ज्याला मजदुरी गरेर साँझ बिहानको छाक टार्नेहरुलाई लकडाउनका बेला समस्या भएको छ’, उनले भने, ‘त्यसमाथि पनि उनीहरु जिल्लाकै एक मात्र लोपोन्मुख जाति भएकाले सहयोग गर्न भित्रि मनदेखि नै इच्छा लागेर सहयोग गरेका हौं ।’
ज्याला मजदुरी गरी खाने समुदायलाई लकडाउनका बेला खाद्यान्न अभाव भएका अन्य परिबार भेटिएमा अझै सहयोग गर्ने कल्पना श्रेष्ठले बताइन् ।




