| शनिबार, कार्तिक २८, २०८३

भौतिक पूर्वाधार विकास मन्त्रीले भने : विकास निर्माणको काम तत्काल सुरु गर्नू, समस्या परे सिधै मलाई फोन गर्नू

 

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले विकास निर्माणका कामहरु तत्काल सुरु गर्न गोरखाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । बुधबार गृहजिल्ला गोरखा आएका मन्त्री बस्नेतले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सिँचाई कार्यालय, खानेपानी डिभिजन, सहरी विकास तथा भवन निर्माण डिभिजन एवं पूर्वाधार कार्यालयका प्रमुखलाई विकास निर्माणको काम सञ्चालन गर्न आग्रह गरेका हुन् ।

लकडाउनका कारण रोकिएका कामलाई सुचारु गर्न आग्रह गर्दै उनले रकम अपुग भए थप गर्ने तयारी भएको पनि जानकारी दिए । ‘लकडाउनका कारण रोकिएका विकास निर्माणका कामहरु तत्काल सुरु गरिहाल्नू’, उनले भने, ‘केही गाह्रो, अप्ठ्यारो पर्यो भने सचिव, स्वकीय सचिव होइन, सिधै मलाई फोन गरिहाल्नू ।’ जिल्लामै उपलब्ध कामदारको प्रयोग गर्न उनको सुझाव छ । साथै आवश्यकताअनुसार निर्माण सामग्रीको आपूर्तिका लागि सहज वातावरण बनाउन प्रमुख जिल्ला अधिकारीलाई उनले आग्रह गरे ।

‘जिल्लाका हार्डवेयर पसलहरुमा निर्माण सामग्रीहरु स्टक छन् । त्यसले काम सुरु गरिहाल्नू । अपुग भए बाहिरबाट ल्याउनका लागि वातावरण बनाउनू’, मन्त्री बस्नेतले भने, ‘नदीजन्य सामग्री उत्खनन, प्रशोधनका लागि पनि अनुमति दिनू । केही समस्या उत्पन्न भए मलाई भन्नू ।’ ‘विशेष गरी बर्खाको भेलले जोखिम हुनसक्ने पुलका काम, सिचाइका कामलाई पहिलो प्राथमिकता दिनू’, उनले भने, ‘सडक कालोपत्रे गर्ने दक्ष कामदार बाहिरका हुनसक्छन् । त्यो बाहेक सबै कामदार जिल्लामै उपलब्ध हुन्छन् । तिनको प्रयोग गरेर काम सुरु गर्नू ।’ अन्य कामभन्दा बर्खाका बेला जोखिम हुनसक्ने पुल, किसानका लागि अति आबश्यक पर्ने सिँचाइ र खानेपानीका योजनालाई प्राथमिकता दिनुपर्ने उनको तर्क छ ।

अहिले बिनियोजन भएको बजेट जसरी पनि खर्च गर्न आग्रह गर्दै उनले छिट्टै बजेट थप गर्ने पनि बताए ।

निर्माण मजदुर, निर्माण व्यवसायी, निर्माण सामग्री ढुवानीका साधनहरुलाई पासका लागि सहज वातावरण बनाउन उनले प्रजिअ पौडेललाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्