
बारपाकमा एकसातादेखि विद्युत सेवा अवरुद्ध
गोरखाको बारपाक गाउँमा विगत एकसातादेखि विद्युत सेवा अबरुद्ध भएको छ ।
बारपाक ग्रामीण विद्युतीकरण आयोजनामा समस्या आएपछि बारपाकका एकहजार दुईसय ८७ घरधुरीका बासिन्दा विद्युत सेवाबाट बञ्चित भएका छन् ।
विद्युत सेवा अवरुद्ध हुँदा बारपाकबासीले विजुलीबत्तीबाल्न पाएका छैनन । विद्युत अवरुद्ध हुँदा नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन हुन नसकेको स्थानीयले बताएका छन् । एनसेलको टावरमा समेत विद्युत प्रवाह हुन नसक्दा मोबाइल सेवा सञ्चालनमा आउन नसकेको वीरबहादुर घलेले जानकारी दिए । ‘मुख्य गरी विजुली बत्ती बाल्न नपाउँदा गाउँलेलाई समस्या भएको छ’, घलेले भने, ‘कुटानी पिसानी मल, स मिल पनि चलेका छैनन् । मोबाइल सेवा पनि चलेका छैनन् । जसले गर्दा गाउँलेलाई समस्या भएको छ ।’
गत बैशाख ११ गते आयोजनाको विद्युतगृहको मुख्य उपकरणमा समस्या आएपछि सेवा अबरुद्ध भएको आयोजनाका सञ्चालक वीरबहादुर घलेले जानकारी दिए । ‘पावरहाउसको जेनेरेटरको क्वायल गएको छ । दुई दिनदेखि मर्मत भइरहेको छ’, घलेले भने, ‘मर्मत हुन अझै दुईचार दिन लाग्न सक्छ ।’
१३६ किलोवाट क्षमताको सो आयोजना २०४८ सालदेखि सञ्चालन भएको हो ।




