
असिना पानीले तरकारीमा क्षती, हावाहुरीले ग्रामिण भेगमा विद्युत अवरुद्ध
शनिवार र आईतवारको हावाहुरी सहित असिना पानीले गोरखाको बिभिन्न ठाउँमा क्षती पुगेको छ । सिरानचोक, पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका लगायत बिभिन्न ठाउँबाट किसानले असिना पानीले तरकारी खेतीमा क्षती पुगेको गुनासो गरेका छन् । सिरानचोक गाउँपालिकाको हर्मीमा असिना पानीले तरकारी खेतीमा क्षती पुगेपछि किसान निराश भएका छन् । बारपाक सुलिकोट गाउँपालिको स्वाँरा लगायत आसपासका ठाउँमा पनि असिना पानीले फलफुल झरेको स्थानीय शलिना गुरुङले बताईन । भिमसेन थापा, आरुघाट, गोरखा नगरपालिका, पालुङटार नगरपालिकामा लिची र आँपको फुल झरेको छ । किसानले लाखौँको क्षती बेहोर्नु परेको गुनासो गरेका छन् ।
यस्तै लगातारको वर्षात सँगै आएको हावाहुरीले गोरखाको ग्रामिण भेगा बिद्युत समेत अवरुद्ध भएको छ । हावाहुरी चलेपछि बिजुली अवरुद्ध हुने, लामो समय सम्म नआउने गरेको च्याङ्ली, बोर्लाङ, अश्राङ, मिरकोट लगायत ठाउँका स्थानीयले गुनासो गरेका छन । रुख ढल्दा, हावाहुरीले पोल र तारमा असर पर्दा अवरुद्ध भएको बिजुली छिटो मर्मत गरेर सुचारु गराउने विद्यूत प्राधिकरण बितरण केन्द्र गोरखाले जनाएको छ ।




