| शनिबार, कार्तिक २८, २०८३

निर्माण मजदुरलाई सहज रुपमा गन्तव्यसम्म पुर्याउन उच्चस्तरीय समितिलाई अनुरोध गर्ने निर्णय, बाटोको भाँजो हटाइने

 

निर्माणको कामको सिलसिलमा गोरखामा आएर अलपत्र परेका मजदुरलाई आफआफ्नो गन्तव्यमा पुर्याउन नेपाल सरकारको उच्चस्तरीय समितिलाई अनुरोध गर्ने निर्णय भएको छ ।

जिल्ला सुरक्षा समिति, कमाण्डपोष्ट, प्रकोप व्यवस्थापन समिति र राजनीतिक दलहरुको संयुक्त बैठकले निर्माण मजदुरहरु हिडेर टाढाको गन्तव्यसम्म जाँदा सास्ती हुने ठहर गर्दै सहजतापूर्वक घरसम्म पु¥याउने वातावरण बनाउन अनुरोध गर्ने निर्णय गरेको हो ।

सोही बैठकले लकडाउन कार्यान्वयन गर्न भन्दै गोरखाका गाउँ–गाउँमा गरिएको बारबन्देजले जनस्तरमा समस्या सिर्जना गरेको भन्दै सो बारबन्देज हटाउन स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ । कतिपय ठाउँमा बारबन्देजले इमर्जेन्सी परेकाहरुलाई पनि समस्या भएको तथा कतिपय ठाउँमा युवाहरु भेला भएर छेकथुन गर्दा तनाबको अबस्था सिर्जना समेत भएकाले त्यस्ता बारबन्देज हटाउन अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

साथै बैठकले लकडाउनपछि गोरखा भित्रिनेको तथ्यांक संकलन कार्य अझै पूर्ण हुन नसकेकाले कोही नछुटुन्, कोही नदोहोरियुन् भन्ने भावअनुरुप पुन तथ्यांक संकलन गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुले सेवन गर्दै आएको औषधी गाउँघरमा सहज रुपमा पु¥याउन स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै खाद्यान्न ढुवानी गर्ने सवारी साधनबाट पनि कोरोना भाइरस फैलन सक्ने भएकाले खाद्यान्न सामान लोड गर्ने ठाउँमा नै डिस्इन्फेक्शन गरी पठाउन सम्बन्धित व्यापारीलाई अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्