
गोरखादेखि पैदल कैलाली, बर्दिया हिँडेका मजदुरको पिडा ‘अहिलेसम्म नपाएको दुःख पायौँ’
अन्य जिल्लाबाट आएका मजदुरहरुको लकडाउनका कारण बिचल्ली भएको छ । बैशाख ३ गते बाट लकडाउन खुल्ने आशमा गोरखाको बिभिन्न गाउँमा रहेका मजदुरहरु फेरी थपिएपछि कहिले खुल्ने भन्ने निश्चित नहुँदा घर हिँडेका छन् ।
बिहिवार गोरखाको सिरानचोक गाउँपालिकामा विद्यालय भबन निर्माणको काम गर्न आएका जानकी गाउँपालिका ७ कैलाकीका ६१ जना मजदुर पैदल घर हिँडेका छन् । उनीहरु झण्डै चार सय किलोमिटर पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । दिनभरी ज्यालादारी गरेर दुईचार पैसा जोहो गर्न आएका मजदुरहरु काम बन्द भएपछि अध्यारो र मलिन अनुहार लिएर घर हिँडेका छन् । भएको खानेकुरा पेट भरिने गरी खाँदा दुई÷तीन दिन लाई पुग्ने छैन तर उनीहरुले सात दिनको लागि जोहो गर्नुपर्ने छ ।
‘काम त बन्द भयो, अहिले हिँडेर जानुपर्ने बाध्यता आईलाग्यो’ मजदुर नेत्रराम चौधरीले भने ‘गाडीमा जान्छौँ भन्दा पास दिईएन, हामी सबै हिँडेर जादैँछौँ ।’

मजदुर शिब चौधरी बिहिवार बर्दीया हिँडेका छन् । मंगलवार बारपाकबाट निस्किएका उनी बिहिवार गोरखाको नाका पार गरेर तनहुँ पुगेका छन् । ‘हामी ११ जनाको समुह छ, सबै हिँडेर घर जान लगेका हौँ, गाडी कहिले खुल्छ थाहा भएन ।’ सडकमा फाट्ट फुट्ट भेटिएका ठुला ट्रकले प्रहरीको डर हुने भन्दै चढाउन मान्दैनन् । गाडी चढेर मजदुरी गर्न आएका उनीहरुलाई छोटो बाटो थाहा हुँदैन ।
एक दुई होईन, धेरै जनाको ठुलो समुह गोरखाको दुर्गम गाउँमा पुन निर्माणको काममा खटिएका छन् । पुन निर्माणमा सघाउन र घरखर्च जोहो गर्न बाँके, बर्दीया, बारा, कैलाली, कञ्चनपुर लगायत बिभिन्न ठाउँबाट मजदुरहरु यहाँ आएका छन् । आकस्मिक लकडाउनको प्रभावले तीन सातादेखि उनीहरु काम बिहिन भएका छन् । सरकारले घर जाने ब्यवस्था नगरिदिएको, पहिल्यै लकडाउन हुने समय यकिन नगर्दा दुःख पाएको भन्दै मजदुरहरुले गुनासो पोखेका छन् । ‘हामीले दिनभरी पसिना बगाएर काम गर्दा यति दुःख पाएको महशुस गरेका थिएनौँ, कहिल्यै नपाएको दुःख पायौँ’ चौधरीले भने ।
जिल्ला प्रशासन कार्यालय गोरखाले लकडाउनको पहिलो हप्ता पासको ब्यवस्था गरेर मजदुरहरुलाई घर पठाएको थियो । तर अहिले भने बन्द छ । बाटोमा पैदल हिँडेका मजदुरहरुलाई खाने बस्ने ब्यवस्था गरिदिने गोरखाका स्थानीय तहले बताएपनि उनीहरु घर जाने भन्दै बस्न मानेका छैनन् । ‘यहाँ नै बस्नु खाने बस्ने ब्यवस्था हुन्छ भन्दा पनि मान्नु भएन’ गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले भने ‘हिँडेर घर जानेहरुको जटिल समस्या र पिडा संबोधन गर्न सरकारको ध्यान पुग्नुपर्छ,हामीले मात्रै चाहेर गन्तब्य सम्म पु¥याउन सकिएन ।’




