| शनिबार, कार्तिक २८, २०८३

साधना लघुवित्तद्वारा गोरखाका आठवटा स्थानीय तहलाई कोरोना प्रतिकार्य गर्न रु चारलाख सहयोग

साधना लघुवित्त वित्तीय संस्थाले गोरखाका बिभिन्न स्थानीय तहहरुलाई कोरोनाबाट सम्भावित जोखिम न्यूनिकरण गर्नका तथा लकडाउनका लागि समस्यामा परेका समुदायलाई खाद्यान्न राहतका लागि आर्थिक सहायता दिने निर्णय गरेको छ ।

संस्थाको प्रधान कार्यालय रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भिमसेनथापा गाउँपालिका, शहिदलखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र धार्चे गाउँपालिका गरी आठ वटा स्थानिय तहलाई रु ५० हजारका दरले चारलाख रुपैंया राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।

गोरखा नगरपालिकाका लागि निर्णय गरिएको ५० हजार रुपैयाँको चेक संस्थाका सिइओ न्यौपानेले बिहिबार गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलाई हस्तान्तरण गरेका छन् ।

सहयोग रकम ग्रहण गर्दै नगर प्रमुख पन्तले यहाँका विपन्न समूदायलाई आर्थिक रुपले सशक्तबनाउने कार्यमा प्रभावकारी भूमिका खेल्दै आएको यस साधना लघुवित्तले सामाजिक उत्तरदायित्व पूरा गर्ने काममा पनि सक्रिय भई गोरखा नगरपालिकालगायत विभिन्न गाउँपालिकाहरुलाई गरेको आर्थिक सहयोगप्रति आभार प्रकट गरे ।

यस प्रकारको सहयोगले कोरोना भाईरसको संक्रमणको महामारी नियन्त्रणगर्न, महामारीवाट प्रभावित विपन्न समूदायलाई राहातको ब्यवस्था गर्न तथा संक्रमण पिडितहरुको उपचारमा थोरै भएपनि सहयोग पुग्ने बिश्वास गरिएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्