
भीमसेनथापा गाउँपालिकाद्वारा रु १५ लाखको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना
गोरखाको भीमसेनथापा गाउँपालिकाले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि रु १५ लाख रुपैयाँको कोष स्थापना गरेको छ । बिहिबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले सो कोष स्थापना गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारबाट प्राप्त पाँचलाख रुपैयाँमा गाउँपालिकाको कोषबाट १० लाख थप गरी १५ लाख रुपैयाँको कोष स्थापना गरिएको बैठकपछि गाउँपालिकाका प्रमुख इश्वर पाण्डेद्वारा हस्ताक्षरित हार्दिक अपिलमा उल्लेख गरिएको छ ।
सो कोषमा आवश्यकताका आधारमा थप रकम जम्मा गर्न सकिने उल्लेख छ ।
त्यस्तै बैठकले दैनिक ज्यालादारीबाट जीवन गुजारा चलाएका, अति विपन्न, सीमान्तकृत समुदायलाई खाद्य राहत दिने पनि निर्णय गरेको छ । जसका लागि तथ्यांक संकलन सुरु गरिएको र तथ्यांक विश्लेषण गरी खाद्य राहत वितरण गरिने अपिलमा उल्लेख छ ।
भीमसेन थापा गाउँपालिकाका नौ वटै वडामा गरी विदेशबाट आउनेको संख्या २१ रहेको छ । उनीहरु सबै सेल्फ क्वारेण्टाइनमा रहेको र पूर्ण रुपमा स्वस्थ रहेको गाउँपालिकाका प्रमुख पाण्डेले बताए । कोही शंकास्पद बिरामी भएमा राख्ने उद्देश्यले प्रत्येक वडामा पाँचपाँच वटाका दरले ४० वटा क्वारेण्टाइन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । उनीहरुका लागि साबुन, सेनिटाइजर, मास्क लगायतका आधारभूत सामग्री तयारी अबस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा कोरोना भाइरस प्रवेश गर्नबाट रोकथाम गर्न तथा भाइरसबाट कोही संक्रमित भएमा नियन्त्रण तथा उपचारका लागि काम गर्न प्रतिकार्य समूह गठन गरिएको गाउँपालिकाले जनाएको छ । सो समितिले कोरोनासम्बन्धी जनचेतनाका कार्यक्रम गर्ने, विदेशबाट आएकाहरुको निगरानी गर्ने काम गर्ने गाउँपालिकाका प्रमुख पाण्डेले बताए ।






