| शनिबार, कार्तिक २८, २०८३

गोरखा दरबार र भिमसेन पार्क नजिकै अर्को गन्तब्य, बिन्धाबासिनी मन्दिर संरक्षणमा जुटे स्थानीय

दरौँदी समाचारदाताः गोरखाको प्रसिद्ध धार्मिक स्थल भनेपछि गोरखा दरवालाई लिईन्छ । गोरखनाथ मन्दिर, गोरखकाली मन्दिर एकै ठाउँमा छन् । यी ठाउँ आज मात्रै होईन परापूर्व कालदेखि धार्मिक र ऐतिहासिक स्थलको रुपमा परिचित छ । त्यसैले त यहाँ देशका बिभिन्न ठाउँ बाहेक बिदेशदेखि पनि पर्यटक आउने गर्छन । यो गोरखा नगरपालिका क्षेत्र भित्र पर्छ ।

नगरपालिकाले गोरखा दरबारलाई केन्द्र बनाएर आसपास पर्यटकिय गन्तब्यको खोजी सुरु गरेको छ । जस अन्र्तगत अहिले भिमसेन पार्क, चिल्डेूनपार्क, पश्चिमकाली लगायतका ठाउँहरु पर्यटकिय गन्तब्यको रुपमा चिनिन्छन् । यी मध्ये पनि अहिले भिमसेन पार्कले आन्तरिक पाहुनाको ध्यान धेरै खिचेको छ । कारण उच्च ठाउँ, त्यहाँबाट देखिने हिमाल, ग्रामिण बस्ती, गर्मिमा सित्तल हावा, भिमसेन थापाको शालिक जस्ता कारणले पार्कमा पुग्ने, फोटो खिचाउने, सामाजिक सञ्जालमा राख्ने क्रम तिब्र छ । तर यो पार्क नजिकै करिब १५ मिनेट हिँडेर पुग्न सकिने गोरखा नगरपालिका ३ को बिन्धाबासिनी मन्दिरमा भने पर्यटक वा भक्तजन पुगेका छैनन् । कारण त्यस मन्दिरको धार्मिक महत्व र त्यहाँको रमणिय ठाउँबारे धेरै अनविज्ञ छन् । ‘दुःख कष्ट बाट छुटकरा पाउन’ बिन्धाबासिनी मन्दिरमा धेरै वर्ष पहिलेदेखि स्थानीयले बली चढाउँथे । अफ्ठ्यारो परेका बेला बिन्धा बासिनीमा पुजापाठ गर्ने, बली चढाउने गरेमा कामसिद्धी हुन्छ भन्ने धार्मीक मान्यता स्थानीयमा छ । कुखुरा, परेवा, राँगा, बोकाको बलि त्यहाँ चढ्छ ।

राजाको पालामा गोरखा दरबारमा दशैँको बेला बली चढाउँदा बिन्धाबासिनीमा पनि बली दिईथ्यो । स्थानीय गणेश बहादुर थापा भन्छन् ‘दरबारमा पनि बली घट्दै गयो, यहाँ अहिले दिन छोडिएको छ ।’ पुजापाठ भने नियमित हुन्छ । चार जना पुजारीले आलोपालो पुजा गर्छन । हरेक वर्ष बैशाख पूर्णिमाको अवसरमा जलधारा पुजा हुन्छ । जनैपूर्णिमाको दिन जनै सुद्ध बनाउन बाजागाजा सहित पहिले मेला लाग्थ्यो । अहिले आसपासका स्थानीय मात्रै भेला हुन्छन् । मन्दिरमा राखिएको घण्ट १७४८ सालको छ । उक्त घण्ट २०११ सालमा भलपानीले बगाएको थियो । घण्ट बगाएर गाउँभन्दा मुनी पानीको रहमा लगेको थियो । स्थानीयले झिकेर ल्याएकाले अहिले पनि घण्ट पुरेको ठाउँलाई घण्टपुरे रह भनेर चिनिन्छ । बिन्धाबासिनी सामुदायिक बन उपभोक्ता समितिको जंगल भित्र बिन्धाबासिनी मन्दिर पर्छ । त्यहाँ रहेको सिलालेखमा १९०३ मा रणबहादुर शाहको नाममा लेखिएका आलेखहरु पनि छन् । गोरखा सदरमुकामको बसपार्कबाट करिब पाँच किलोमिटर सडक यात्रा गरेपछि विन्धाबासिनी मन्दिर पुग्न सकिन्छ । ग्राबेल सडक भएकाले सहजै सवारी साधन पुग्छ । जहाँतही सडक खनेर धुलाम्य भईरहेका बेला सडकयात्रा पछि पाँच मिनेट सिँढीबाटो हिँडेर मन्दिर पुग्न सकिन्छ । मन्दिर मात्रै छैन, त्यहाँ रहेको बोटबिरुवा, पानीको कुवाले भक्तजनको मन लोभ्याउँछ । गर्मी मौसममा सित्तलता दिने रुख, मन्दिरसँगैका पानीको मुल, नजिकै पाटी मानिसहरु बस्न, बनभोज स्थलको रुपमा पाटी प्रयोग गर्न मिल्छ । तर त्यहाँ पिउने पानीको धारा, बिजुली बत्ती, धेरे बस्ने ठाउँहरु ब्यवस्थापन गर्नुपर्छ ।

मन्दिर भएर सिँढीबाटो भिमसेन पार्क जोड्ने हो भने पार्क पुगेका पर्यटक र मन्दिर पुगेका भक्तजन बिन्ध्याबासिनी मन्दिरमा सहजै पुग्न सक्छन् । केही वर्ष यता मन्दिर संरक्षणको प्रयास भईरहेको गोरखा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष रामबाबु बोगटी बताउँछन् । ‘हामीले सिँढी लगाएका छौँ, पाटी बनाएका छौँ’ उनले भने ।

बिन्धाबासिनी मन्दिरको संरक्षण गर्न सक्ने र पर्यटकीय गन्तब्यको रुपमा पूर्वाधार बनाउने हो भने धेरै फाईदा लिन सकिने स्थानीय सरदबाबु श्रेष्ठ बताउँछन् । ‘हाम्रो वडाको यो एउटा प्रमुख धार्मीक र ऐतिहासिक गन्तब्य हो, यसका संरक्षण र प्रचारमा हामी पनि जुट्नुपर्छ’ उनले भने । गोरखा नगरपालिकाले चालु वर्ष बिनियोजन गरेको १० लाख रुपैयाँबाट मन्दिरमा कुण्ड बनाउने, माछा राख्ने, योजना स्थानीयको छ । डिपिआर तयार गरेर योजना बनाउने र हरेक वर्ष बिस्तृत परियोजना प्रतिवेदन अनुसार काम गर्ने तयारी स्थानीयको छ । ‘डिपिआर बनाएर काम सुरु गरियो भने हरेक वर्ष त्यही अनुसार काम गर्न सजिलो हुन्छ’ स्थानीय सँगको अन्तक्रियामा नगरप्रमुख राजन राज पन्तले भने । नगरपालिकाले हरेक वडाभित्र रहेका पर्यटकिय गन्तब्यलाई उजागर र प्रचार गर्न महत्वपूर्ण स्थल छनौट गर्दै बजेट बिनियोजन गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्