| शनिबार, कार्तिक २८, २०८३

अवैध इटाका कारण वैध इटा उद्योग धमाधम बन्द हुदै

शिव उप्रेतिः गोरखा बजारका जुझारु युवाहरुले गोरखा नगरपालिका १० छेपेटारमा सञ्चालन गरिरहेको सेभेनग्रुप इटा उद्योग हालै भन्द भयो । पालुङटार नगरपालिका ९ का बासु गुरुङले बिगत पाँच बर्षदेखि सञ्चालन गरिरहेको केबी इटा उद्योग हालै बन्द गरेर कृषि फर्म सुरु गरेका छन् ।

गोरखा नगरपालिका १२ का रामजीप्रसाद ढकालले सोही ठाउँमा सञ्चालन गरेको ढकाल इटा उद्योग पनि हालै बन्द भयो । पालुङ्टार नगरपालिका ९ का हरिबहादुर अधिकारीको नाममा दर्ता भएको सचिन इँटा उद्योग पनि बन्द भएको छ ।
एक बाहान इटा उत्पादन गरेपछि आफू पनि बन्द गर्ने शहीद लखन गाउँपालिका ७ को निश्चल इँटा उद्योगका धनबहादुर श्रेष्ठ बताउँछन् । उनीहरुको मात्र होइन, अनाधिकृत रुपमा खुलेका इटा उद्योगका कारण विधिवत रुपमा खुलेका इटा उद्योगहरु धमाधम बन्द भइरहेको अर्का इटा व्यवसायी रामबहादुर बयलकोटी बताउँछन् । ‘व्यबसायको बारेमा बोल्न सक्नै स्थिति नै छैन । अब झोलीतुम्बा बोक्ने बेला भएको छ’, कबीरबाबा इटा उद्योगका सञ्चालक बयलकोटी भन्छन्, ‘दर्ता पनि नभै चल्नेहरुलाई मोज छ । हामी चल्न नसक्ने भयौं ।’ इटाको अवैध कारोबारको बारेमा विधिवत व्यवसाय सञ्चालन गरेका एकाध व्यवासयीले बोलेर केही सीप नचल्ने उनले दुख ब्यक्त गरे ।

‘ग्राहकले त सस्तो मात्र खोज्छन् । कुन इटा वैध, कुन अवैध भन्ने उनीहरुलाई मतलब छैन’, उनी भन्छन्, ‘सवै सरकारी नीति नियम पूरा गरेर, कर तिरेर बिक्री गर्दा हाम्रो एउटा इटाको १४, १५ रुपैयाँ पर्छ । तर दर्ता पनि नगरी, सरकारलाई कर पनि नतिरी चलेका अवैध उद्योगहरुले एउटा इटालाई आठ, नौ रुपैयाँमा घरसम्म ढुवानी समेत गरिदिन्छन् ।’

भूकम्पपछिको पुनर्निर्माणमा धेरै इटाको कारोबार भएको तर वैध र अवैध इटाको कारोबार बारे अनुगमन कसैले पनि नगरेका उनको गुनासो छ । घरेलु तथा साना उद्योग कार्यालय गोरखाका अनुसार गोरखामा जम्मा नौ वटा इटा उद्योग दर्ता भएका छन् । तीमध्य चारवटा बन्द भइसकेको छ भने एउटाले अन्तिम बाहान इटा पकाउँदै छ । तराईबाट आएका अवैध इटाका कारण पनि स्थानीय इटा उद्योगहरु धरासायी भएको कुन्दूर इटा उद्योगका सञ्चालक दिलबहादुर थापा बताउँछन् । ‘यहाँ गाउँगाउँमा एजेण्टहरुले ग्राहकसंग सम्पर्क गरेर तराईबाट इटा झिकाउँछन्’, उनी भन्छन्, ‘तराइबाट नक्कली भ्याटबिलका इटाहरु आउँछन् । भ्याटबिल देखेपछि प्रहरीले पनि छाडिहाल्छ तर ती सबै नक्कली भ्याटबिल हुन्छन् । त्यसको जाँचबुझ गर्ने प्रयास नै हुदैन ।’ भूकम्पपछि नक्कली भ्याटबिलका इटा बेच्ने लहर नै चलेको उनको दाबी छ । साथै जिल्लामा खुलेका चिम्नीबिनाका इटाभट्टी, मुभिङचिम्नीवाला इटाभट्टी पनि खुलेआम सञ्चालनमा रहेका छन् । अवैध इटाको कारोबार जिल्लाभरि रहेको बारे घरेलु तथा साना उद्योग विकास कार्यालय, प्रशासन कार्यालय, प्रहरी कार्यालय, पत्रकार सबैलाई जानकारी गराएको कुन्दुर इटा उद्योगका सञ्चालक दिलबहादुर थापा बताउँछन् । ‘अवैध रुपमा नक्कली भ्याट बिल प्रयोग गरी तराईका इटा आएको बारेमा पनि जानकारी गराएका छौं । जिल्लाभरि अवैध इटा उद्योग चलिरहेको बारे पनि जानकारी गराएका छौं’, थापा भन्छन्, ‘तर यसलाई व्यवस्थित गर्न कसैले पनि चासो लिएका छैनन् ।’ बिगतमा प्रहरी, प्रशासन, घरेलु कार्यालयले अनुगमन गरे पनि अवैधलाई नियम कानूनको दायरामा ल्याउन नसकेको भन्दै उनले आपत्ति जनाए । ‘दर्ताबिना, मापदण्डबिना उद्योग चलेको ठाउँमा कार्यालयको तर्फबाट पनि जिल्ला अनुगमन समितिबाट पनि अनुगमन पनि भए तर अवैध उद्योग यथावत रुपमा चलिरहेका पनि छन् ।

नक्कली भ्याटबिलका तराईका इटाहरु बिनारोकतोक आइरहेका पनि छन् । यसबाट हामीले के बुझ्ने ?’, उनी भन्छन्, ‘त्यसैले हामीले नियम कानून पूरा गरी चलाएका उद्योगहरु बन्द गर्न बाध्य भएका छौं ।’ घरेलु तथा साना उद्योग विकास कार्यालय भने वैध र अवैध इटाका बारेमा अनभिज्ञता प्रकट गर्छ । ‘यस बारेमा कार्यालयलाई कुनै जानकारी नै छैन’, कार्यालय प्रमुख दिनेश पौडेल भन्छन्, ‘कतैबाट उजुरी पनि आएको छैन । हामी अनुगमनमा पनि गएका छैनौं ।’ अब छानबिन गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्