
नगरपालिका क्षेत्रमा मुख्य सडकको साढे तीन मिटरभित्र ग्यारेज निषेध
गोरखा नगरपालिकाले फुटपाथ ब्यवस्थित गर्न सडकको साँढे तीनमिटर दायाँबायाँ संरचना हटाउने अभियान सुरु गरेको छ ।
मुख्य सडकको दायाँ बायाँ ग्यारेज सञ्चालकहरुले फुटपाथ अतिक्रमण गरेर बनाएका टहरा, अस्थायी, संरचना भत्काएर फुटपाथ ब्यवस्थित गर्न लागिएको नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले बताए ।
नगरपालिकाको प्राविधिक, वडाअध्यक्षहरु सहितको कर्मचारी टोलीले बुधवार वडा नम्बर ६ र ८ अन्र्तगत मुख्य सडकको दायँबायाँ नालाभन्दा बाहेक ३.५ मिटर छुट्याएर इनामेल लगाउँदै ग्यारेज अगाडि सीमाचिन्ह लगाएका छन् । नापजाँच गरिएको क्षेत्रभित्र फुटपाथ ब्यवस्थित गर्ने योजना नगरपालिकाको छ ।
साँघुरो सडक, बाक्लो बजार क्षेत्रका कारण यसअघि निर्माण भएको फुटपाथमा ब्यापारीले सामग्री राखेर बिक्री गरेको गुनासो नगरबासीले बारम्बार गर्ने गर्छन । नगरपालिकाले प्रहरीको मद्धतले बेलाबखत फुटापथ खाली गरेपनि पूर्ण रुपमा ब्यवस्थित बन्न सकेको छैन ।
‘ग्यारेज रहेको क्षेत्रमा सडक ढाक्नेगरी पार्किङ गर्ने, थोत्रा सवारी साधन राख्ने, सडक फोहोर हुने गरेकाले पहिलो चरणमा ग्यारेजहरुलाई ब्यवस्थित गरेका हौँ’ इन्जिनियर ढकालले भने । सवारी साधन र मेसिनरी बस्तु मर्मत गर्ने ठाउँ आसपास सडक फोहोर हुने, फुटपाथ अतिक्रमण भएको छ ।
अहिले गोरखा सदरमुकामको हरमटारी चोकदेखि खोलखोले क्षेत्रसम्म सडक छेउमै ग्यारेज संचालनमा छन् । ग्यारेजमा गाडी मर्मत गर्दा निस्किएको फोहोर, मोविल, गाडी धुँदाको पानी सडकमा बग्ने हुँदा दुर्घटनाको जोखिम बढेको छ । ‘फोहोर र दुर्गन्ध पनि धेरै भएकाले बातावरण सरसफाईको दृष्टिकोणले पनि अहिले भईरहेको ठाउँबाट हटाउनुपर्नेछ’ नगरपालिकाका सरसफाई शाखाका अधिकृत ध्रुब घिमिरेले भने ।
नगरपालिकाले उपभोक्ता हित संरक्षण समितिको बैठकबाट पहिलो चरणमा ग्यारेज ब्यवस्थित गर्दा फुटपाथ व्यवस्थित हुने, दुर्घटनाको जोखिम कम हुने निर्णय गरेपछि कामसुरु भएको हो । ग्यारेज क्षेत्र वरपर चिन्ह लगाइएको ठाउँभित्र नपर्ने गरी सामग्री राख्नुपर्नेछ । ‘सडक क्षेत्र खालि गर्न १० दिनको समय दिएका छौँ’ नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले भने ‘अटेर गरेमा ३.५ मिटर भित्रको संरचना नगरपालिकाले भत्का उँछ । फुटपाथ खालि पनि गराउँछौँ ।’ नगरपालिकाको तथ्याङ्कमा त्यसरी हटाउनुपर्ने ग्यारेज १७ वटा छन् ।




