| शनिबार, कार्तिक २८, २०८३

गोरखाको पालुङटारमा ठेकेदारको लापर्वाहीले पुलको बिम बाङ्गो

 

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ६ मा निर्माणाधिन कल्भट (पुल) को बिम बाङ्गिएपछि ठेकेदारले गुणस्तहीन काम गरेको स्थानीयले गुनासो गरेका छन् ।

ठाँटीपोखरीदेखि दुधपोखरी जाने सडकमा पर्ने बडहरे खोलामा उक्त कल्भटको स्ल्याब ठड्याईएको बिम बाङ्गो भएको स्थानीयको ठहर छ ।

बिम बाङ्गो भएपछि पुल कमजोर हुने स्थानीयबासी बताउँछन् ।

गोरखाको ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयले १८ मिटर लामो सो पुल करिब तीन करोड ५० लाख रुपैयाँमा निर्माण गर्न काष्ठमाण्डप नाना जेभीलाई ठेक्का दिएको इन्जिनियर राजेश यादबले बताए ।
‘बिम बाङ्गो भएको साँचो हो’, उनले भने, ‘निर्माणको क्रममा रहेकाले त्यसलाई सुधार गरेर जाने समय छ ।’ पुलको दुबैतर्फ पर्खाल उठाइएको छ । ढलान गरिएको पर्खाल बाङ्गो देखिएपछि सर्वसाधारणले पुलमा प्राविधिक मापदण्ड नपुगेको भन्दै गुनासो गरेका हुन् ।

पालुङटार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कंडेलले उक्त विषयमा अत्याधिक गुनासो आएको बताए । सिभिल इन्जिनियर समेत रहेका नगरप्रमुख कँडेलले प्राविधिक दृष्टिकोणले पनि उक्त संरचना कमजोर देखिएकाले निर्माण ब्यवशायीले सुधार गरेर बलियो बनाउनुको बिकल्प नरहेको बताए ।

पालुङटार(बिमलनगर अन्र्तगत मुख्य सडक खण्डमा पर्ने उक्त खोलामा पुल कमजोर हुँदा दुर्घटनाको जोखिम हुन सक्ने, निश्चित आयु नटिक्ने डर स्थानीयलाई छ । ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनाले भने मापदण्ड पूरा नगराएर भुक्तानी नदिने र गुणस्तरीय काम लगाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्