| शनिबार, कार्तिक २८, २०८३

काङ्ग्रेसको किचलो : कार्यक्रम रोक्न प्रबक्ताको निर्देशन नकार्दै गोरखामा कार्यकर्ता प्रशिक्षण

नेता शेखर कोइराला सहभागी गोरखाको कार्यक्रम रोक्न नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले दिएको निर्देशन अवज्ञा गर्दै शुक्रबार गोरखामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेता शेखर कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रोक्न प्रवक्ता विश्वप्रकाश शर्माले टेलिफोनमार्फत गरेको निर्देशन अटेर गरी गोरखामा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको हो ।

प्रवक्ताले टेलिफोन गरी तत्काल कार्यक्रम रोक्नू भनेर आएको निर्देशन अटेरी गरी कार्यक्रम सम्पन्न गरेको जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए । ‘कार्यक्रम चलिरहँदा प्रवक्ता विश्वप्रकाश शर्माले फोन गर्नुभएको थियो’, जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले भने, ‘फोनमा उहाँले गोरखामा रेडियो सुनिदैन ? भनेर सोध्नु भयो । मैले भनेँ , सुनिन्छ । पत्रपत्रिका आउँदैन ? भन्नुभयो । मैले भनेँ, आउँछ । पार्टीको इमेल आएको छैन ? भन्नुभयो । मैले भनेँ आएको छैन । देशभर सबै कार्यक्रम नगर्नु, नगराउनू भनेर निर्देशन गर्दागर्दै तपाईँहरुले कार्यक्रम गरिरहनु भएको छ । तुरुन्त रोक्नुस् भन्नु भयो । मैले भनेँ, यो रोक्न मिल्दैन । यो कुनै ठूलो आभसभा, समारोह होइन । आन्तरिक प्रशिक्षण हो । रोक्नु मिल्दैन ।’ दुई महिनाअघि नै निर्धारित कार्यक्रम भएकाले तत्काल आएको निर्देशनले रोक्न नसकिएको सचिव न्यौपानेले बताए ।

काङ्ग्रेसले गत फागुन २१ गते सूचना जारीगरी कोरोना भाइरसका लागि सचेतना आवश्यक रहेकाले पार्टीका प्रशिक्षण लगायतका कार्यक्रम स्थगित गर्ने जनाएको थियो । साथै नेता कोइराला देशभरि गुट भेला गर्दै हिडेको आरोप संस्थापन देउवा पक्षको छ ।

नेता शेखर कोइरालालले भने चौधौं महाधिवेशनको तयारीमा लाग्न पार्टी केन्द्रले निर्देशन गरेकाले आफू जिल्लाहरुमा हिडेको तर्क गरेका छन् । ‘पार्टीका साथीहरुले बोलाउनु भयो, म आएँ । मेरो भन्नु केही छैन’, उनले भने, ‘यहाँ कुनै पक्षका मात्र भेला भएका होइनन् । क्षेत्रीय समितिको बैठक छ । जिल्ला कार्यसमितिको बैठक छ । जिल्ला समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रम छ । यो मेरो आग्रहमा भएको भेला होइन । दुई महिनादेखि पार्टीले बोलाएको हुँदा आएको हुँ ।’ आफू कुनै पनि गुटमा नरहेको कार्यक्रममा उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्