| शनिबार, कार्तिक २८, २०८३

रोकिएको पालुङटारको सामुहिक आबास निर्माण सुचारु

पालुङटार नगरपालिका ७ च्याङ्लीमा छ रोपनी ११ आना जग्गा निर्माण हुन लागेको सामुहिक आबास भबनको जाली बुन्ने, जग खन्ने काम सकेर जग राख्ने तयारी निर्माण कम्पनीले गर्दै गर्दा पुन निर्माण प्राधिकरणले काम रोक्यो । बनाउन जिम्मा पाएको केही महिनामै निर्माण रोक्न आदेश दिएपछि निर्माण जिम्मा लिएको कम्पनीले त्यहाँ भएको लगानी फिर्ता माग्यो ।

निर्माण हुने नहुने अन्यौलका बीच १५ करोड ५० लाख लागतको उक्त भबन पुन निर्माण सुरु भएको छ । काम रोकिएको २२ महिना पछि पुन निर्माण प्राधिकरणले भबन सुरु गर्न निर्देशन गरेसँगै काम थालिएको हो ।

आर्थिक स्तर कमजोर भएका परिवारलाई सरकारी घरमा, एकै ठाउँमा राख्ने योजना सहित गोरखाको पालुङटारमा आवास भबन निर्माण योजना सुरु भएको थियो । ठेक्का लागेर काम सुरु भएको भबन लामो समयसम्म अलपत्र परेपछि पालुङ्टार नगरपालिकाले उक्त भबन प्रयोगमा ल्याउने प्रतिवद्धता सहित पुन निर्माणमा पत्राचार गरेको थियो । ‘काम सुरु नै नगरेको भए हुन्थ्यो, सुरु गरेर अलपत्र पर्दा राज्यको करोडौँ रुपैयाँ गुम्ने खतरा थियो’ पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले भने ‘संरचना बनेपछि प्रयोगमा आउँछ ।’ प्राधिकरणको योजना अनुसार सामुहिक आबासको रुपमा प्रयोगमा आउन सकेन भने नगरपालिकाले सरकारी स्वामित्वमा रहने गरी सेवा प्रभाव गर्न सक्ने गरी योजना गरिएको छ ।

‘भबन निर्माण रोकिएकै चरणबाट पुन सुरु गर्न परिपत्र आएपछि सुरु गरेका हौँ’ जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख सुनिता श्रेष्ठले भनिन् ‘पहिले काम रोकिएको जति समय अबको झण्डै २१ महिनामा निर्माण ब्यवशायीले पूरा गर्नुपर्छ ।’ पहिले तयार भएका फाउन्डेसनमा प्रयोग भएको रड, सिमेन्टको ल्याव परिक्षण गरेर बलियो रहेको प्रमाणित भएपछि त्यहाँबाट नै काम सुरु गरिएको उनले बताईन । दुई महिना यता काम चलिरहेको छ । निर्माण ब्यवशायीले खाल्डोमा जमेको पानी फाल्ने, रडको खिया हटाउने गरेर भबन निर्माणको थप काम गरिरहेका छन् ।

२०७४ भदौमा सम्झौता भएर धमाधम काम भईरहेका बेला राष्ट्रिय पुन निर्माण प्राधिकरणले तत्काल प्रयोगमा आउने संभावना नरेको भन्दै रोक्न निर्देशन दिएको थियो । प्राधिकरणको निर्देशनपछि बजेट निकासा नहुँदा जिल्ला आयोजना कार्यान्वयन ईकाई (भबन) ले निर्माण कम्पनीलाई काम लगाउन सकेन । उक्त भबन निर्माण नरोकिएको भए श्याम सुन्दर निर्माण सेवाले २०७६ माघमा निर्माण सकेर भबन हस्तान्तरण गर्नुपथ्र्यो । अहिले भबन सकिएको हुन्थ्यो ।

भुकम्पको केन्द्रबिन्दु जिल्ला गोरखामा करिब एक सय ३० परिवार अट्ने गरी पालुङटारको च्याङ्लीमा सामुहिक आबास बनाउने योजना सुरु भएको थियो । भूमिहिनहरुलाई जग्गा खरिद गर्न सरकारले प्रतिधुरी दुई लाख दिने, घर बनाउने तीन लाख दिने भएपछि उक्त आबास प्रयोगमा नआउने डरले हतार हतार प्राधिकरणले रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्