| बुधबार, चैत्र २६, २०७६

गण्डकी गापा भित्रको अवैध खानी बन्द गर्न निर्देशन

गोरखाको गण्डकी गाउँपालिकाको बिभिन्न ठाउँमा मापदण्ड पूरा नगरी संचालन भएको बालुवा खानी बन्द गर्न खानी तथा भूगर्भ बिभागले पत्राचार गरेको छ । बिभागले उक्त क्षेत्रमा अनाधिकृत रुपमा सञ्चालित बालुवा खानी तत्काल बन्द गर्ने निर्णय गरेर जिल्ला प्रशासन कार्यालय गोरखा, जिल्ला प्रहरी कार्यालय र गण्डकी गाउँपालिकाको कार्यालयमा जानकारी पाठएको हो ।

खानी अझै निर्वाध चलिरहेको छ । त्यहाँ चलेका खानीहरु बिभागको अनुमतिबिना चलेका छन् । गाउँपालिकामा दर्ता भएर मात्रै खानी संचालन गर्न पाउने प्रावधान छैन । खानी तथा भूगर्भ बिभागले स्थलगत अध्ययन गरेर बतावरणीय प्रभाव मूल्याङ्कन गरेपछि मात्रै दर्ताको प्रक्रिया अघि बढ्छ । तर कुनै पनि बालुवा खानीले उक्त प्रक्रिया पूरा नगरेको बिभागका महानिर्देशक सोमनाथ सापकोटाले बताए ।

बिभागका अनुसन्धान अधिकृत बसन्त अधिकारीले गण्डकी गाउँपालिका भित्रका स्थानीयबासीले गरेको उजुरीका आधारमा अत्याधिक गुनासोपछि पत्राचार गरिएको बताए । गण्डकी गाउँपालिका १ देखि ८ सम्म अवैध बालुवा खानी रहेको र उक्त क्षेत्रमा तामा खानी खोजतलास तथा अन्य प्रक्रियाका लागि बिभागीय रोक्का क्षेत्र रहेकाले तत्काल बालुवा खानी रोक्न निर्देशन गरिएको उनले बताए ।

केही स्थानीयले खानी सञ्चालकको फोटो, गाउँपालिकाले खानी संञ्चालकसँग उठाएको राजस्व रसिद सहित पत्राचार गरेका थिए । अवैध खानीको विषयमा के भएको हो ? बिभागले जाँचबुझ गरी कारवाही गर्नुपर्ने भएमा कारवाही गर्न र अवैध खानी बन्द गराउन निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्