
प्रथम शहीद लखन थापा स्मारक जीर्णोद्वारको पर्खाइमा
गोरखा : बि.सं.१९३० मा क्याप्टेन लखन थापा र उनका सहयोद्धा क्याप्टेन जैसिङ चुमी मगरले निर्माण गरेको बिद्रोही किल्लाको घेरापर्खाल भत्किसकेको छ । त्यही ठाउँमा प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानले निर्माण गरेको घेरा पर्खाल छ । २०५६ सालमा केही संरचनाहरु पनि निर्माण गरेको छ ।
२० बर्षअघि निर्माण भएको लखन थापाको सालिकको जरो उप्किसकेको छ । माथिल्लो गरामा निर्माण भएको हलको पर्खाल पनि केही भत्किएको र केही बाँकी छ । जस्ताको छानो ह्वाङ्गै छ । सौचलायको संरचना भत्किएको छ, त्यसैले चालु छैन । कम्पाउण्डभित्रैको लखनथापा प्राथमिक विद्यालय अन्यत्र सारिएको तर विद्यालय भवन नभत्काइएकाले त्यसको भग्न संरचनाले कुरुपता थपिरहेको छ ।
समग्रमा भन्नुपर्दा प्रथम शहीद लखन थापाको स्मारक जीर्ण भएको स्थानीयबासीको भनाइ छ । लखन थापा र उनका सहयोद्धा जैसिङ चुमीको स्मारक स्याहार सम्भारको अभावमा भग्नावशेष जस्तो बनेको स्थानीयबासी बताउँछन् ।
२० बर्ष अघि निर्माण भएका संरचनाहरु पुनर्निर्माण गर्नुपर्ने अबस्थामा पुगेको प्रथम शहीद लखन थापा स्मृति प्रतिष्ठानका सल्लाहकार कृष्ण आलेको भनाइ छ । ‘भूकम्पले भुइँ पनि चर्किएको छ ।
सालिक छोप्ने संरचना पनि जीर्ण भएको छ’, सल्लाहकार आले भन्छन्, ‘पुरातत्व बिभागले प्राविधिक लगाएर अध्ययन गरिदिए र पुनर्निर्माण गर्न पाए हुनेथियो ।’ त्यहाँ पूज ागर्ने बिभिन्न देवदेवीको पनि व्यवस्थित ढंगले मन्दिरको संरचना निर्माण गर्नुपर्ने खाँचो रहेको उनले बताए ।
शहीद लखन स्मारकलाई विस्तृत रुपमा निर्माण गर्न डिपिआर तयार गरिएको र संरचना निर्माण गर्न जग्गा खरिद गरिएको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए । पुरानो गोरखगणका क्याप्टेन समेत भएका लखन थापा र जैसिङ चुमीलाई फाँसी दिन जङ्गबहादुर राणाले देवीदत्त पल्टन परिचालन गरेका थिए । सो पल्टनले उनी दुईसहित सात जनालाई बिसं। १९३३ मा फाँसी दिएको थियो ।
१९११ सालमा मगरहरुको पल्टन पुरानो गोरखगणमा भर्ती भएका लखन थापा र जैसिङ चुमी १९२५ मा क्याप्टेनमा बढुवा भएका थिए । १९२७ सालमा घर विदामा आएका उनीहरुले सेनाको जागिर छोडी जंगबहादुरको निरङ्कुश शासन व्यवस्थाविरुद्ध लड्न पल्टन खडा गरेका थिए ।
त्यसबारे जानकारी पाएपछि लखन थापालाई खिर्राको रुखमा र जैसिङ चुमीलाई बेलाउँतीको रुखमा झुण्ड्याएर मारेका थिए । लखन थापालाई सरकारले २०५६ सालमा शहीद घोषणा गरेको थियो भने २०७२ असोज ३ गते प्रथम शहीद घोषणा गरेको थियो । जैसिङ चुमीलाई भने अहिलेसम्म शहीदको पहिचान समेत नदिइएको भन्दै उनका सन्ततिहरुको गुनासो छ ।




