
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न क्याफेमा दानपेटिका
चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले बनाउँदै गरेको अन्तर्राष्टिूय रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउने उदेश्यले गोरखाको एक होटलमा दानपेटिका राखिएको छ छ । गोरखा नगरपालिका ५ सतिपिपलमा रहेको ‘क्याफे दि गोरखा चौतारी’ ले अन्तर्राष्टिूय क्रिकेट रंगशाला निर्माणका लागि दानपेटिका राखेको हो ।
‘क्याफे दि गोरखा चौतारी’ का सञ्चालक सोम श्रेष्ठका अनुसार गत बिहिबारदेखि दानपेटिकाको सुरुवात गरिएको हो । ‘मैले होटलमा धुर्मुस सुन्तली फाउन्डेसनसँग अनुमति लिएर आर्थिक सहयोग संकलन गर्ने उदेश्यले दानपेटीका राख्न सुरु गरेको छु’, उनले भने, ‘होटलमा आउने जतिपनि ग्राहकहरु हुनुहुन्छ, उहाँहरुलाई हामीले होटललाई दिने टिप्स त्यही दानपेटीकामा राख्न अनुरोध गर्ने गरेका छौँ ।’
गत विहिबारदेखि राखिएको दानपेटिका चैत्रमसान्तसम्म राखिने श्रेष्ठले बताए । ‘दानपेटिका दुई महिना सम्म राख्छौँ । त्यो समयभित्र यहाँ आउनु भएका ग्राहकहरुले आफ्नो इच्छा अनुसार सहयोग रकम राख्नुहुन्छ’, उनले भने, ‘दुई महिनापछि दानपेटिका खोलेर संकलित सहयोग चितवन गएर हस्तान्त्ररण गर्नेछौँ ।’
धुर्मुस सुन्तली फाउन्डेसनलाई रकम सहयोग गर्न चाहनेहरु पनि आफ्नो होटलमा आएर दानपेटिकामा सहयोग रकम राख्न सक्ने उनले बताए । ‘मलाई पनि पहिल्यैदेखि अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि सक्दो सहयोग गर्ने मन थियो’, उनले भने, ‘तर, म एक्लैले धेरै रकम सहयोग गर्न सक्दिँन । थोरै सहयोग रकम लिएर जाँदा पनि सुहाउँदो हुँदैन । त्यसैले म जस्तै आफुले सक्दो सहयोग गर्न चाहानेहरुबाट र होटलमा आउने ग्रहाकहरुले दिनुभएको टिप्सलाई एकमुष्ट सहयोग दिने योजनाले दानपेटिका राखेको हुँ ।’





