| शनिबार, कार्तिक २८, २०८३

गोरखा दरबार बनाउने ठेकदार र कामदार ‘गायब’

मङ्सीर महिनाभित्र सम्पन्न गर्ने गरी गोरखा दरबार पुनर्निर्माणको ठेक्का लिएको पचली भैरव शिवाको जेभीका ठेकेदार ‘गायब’ भएका छन् । तोकिएको म्याद सकिएको साँढे एक महिना बितिसक्दा करिब ३५ प्रतिशत मात्रै काम सकेर ठेकेदार बेपत्ता भएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।

मंसीरभित्र जम्मा ३५ प्रतिशत मात्र काम नगरेपछि पुरातत्व विभागले गत पुस ४ गते ठेकेदारलाई आउँदो जेठ मसान्तसम्मका लागि म्याद थप गरेको थियो । थपिएको म्याद सकिन अब छ महिना मात्रै बाँकी छ । तर, हालसम्म ठेकेदारले पुननिर्माणको काम अघि नबढाएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले बताउँछन् ।

ठेकेदारले गोरखा दरबार पुनर्निर्माण गर्न चार करोड २५ लाखमा ठेक्का लिएको थियो । तर कहिल्यै निर्माण क्षेत्रमा नटेकेका कर्मचारीहरु बताउँछन् ।  बिभिन्न बहाना बनाउँदै ठेकेदार कार्यक्षेत्रमा नआउने र कामदारलाई पनि निर्माणस्थलमा नपठाउने कर्मचारीहरुको गुनासो छ । काम नगर्ने ठेकेदारलाई कारवाहीको सट्टा म्यादथप गरी पुरस्कृति गरिएको कर्मचारीहरुे बताउँछन् । –

‘म्याद थप भएपछि पनि काम नगरेपछि १५ दिने स्पष्टिकरण माग’

म्याद थप भएको एक महिनासम्म पनि ठेकेदारले बिभिन्न बाहाना बनाउँदै दरबार पुननिर्माण काम सुचारु नगरेपछि पुरातत्व बिभागले १५ दिने स्पष्टिकरण माग गरेको छ । गत ९ गते सार्वजनिक सूचना जारी गर्दै बिभागले १५ दिनभित्र ठेकेदार स्वयं उपस्थित भई लिखित स्पष्टीकरण दिन पत्राचार गरेको सो बिभागकी आयोजना प्रमुख मञ्जुसिँह भण्डारीले जानकारी दिइन् ।

‘तोकिएको समयमा काम नसकेपछि म्याद थप भयो । तर, म्याद थप भएको महिना दिनसम्म ठेकेदार र कर्मचारीहरु निर्माण स्थलमा पुगेनन् । काम नै गरेनन्’ पुरातत्व विभागकी पुरातत्व अधिकृत भण्डारीले भनिन्, ‘त्यसपछि हामीले पाँच दिनभित्र कार्यालयको सम्पर्कमा आउन गत माघ ३ गते ठेकेदारलाई पत्राचार ग¥यौँ । तर, उनीहरु हाम्रो सम्पर्कमा आएनन् । त्यसैले सार्वजनिक सूचना जारी गरेर १५ दिने स्पष्टिकरण माग गर्न बाध्य भयौँ ।’

स्पष्टीकरणका लागि दुई दिन मात्र बाँकी छँदासम्म ठेकेदार सम्पर्कमा नआएको उनले बताइन् । ‘तोकिएको म्याद भित्र काम सम्पन्न गर्ने अवस्था समेत नदेखिएकाले सार्वजनिक ऐन २०६३ को दफा ५९ को उपदफा ७ अनुसार खरिद सम्झौता अन्त गर्नु नपर्नाको उचित कारण भए १५ दिनभित्र स्वयं उपस्थित भई लिखित स्पष्टिकरण दिनुहोला, अन्यथा नियमानुसार करार सम्झौता तोडेर कारबाही अगाडि बढाइने छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ । विभागले माग गरेको १५ दिने स्पष्टिकरणको समयसीमा सकिन आजको दिन (माघ २३) मात्रै बाँकी छ । तर, हालसम्म विभागको सम्पर्कमा ठेकेदार नआएकोभण्डारीले बताईन् ।

‘कामको जिम्मा लिएर बिभिन्न बाहाना बनाउँदै समयमै काम नसक्ने, निर्माण स्थलमा कामदार नपठाउने अनि ठेकेदार विभागको सम्पर्कमा नआउने’, उनले भनिन्, ‘अब हामीले माग गरेको १५ दिने स्पष्टिकरणको समयसीमा माघ २३ गते सकिन्छ । उहाँहरुले यो समयमा हाम्रो सम्पर्कमा आएर चित्तबुझ्दो स्पष्टिकरण नदिए स्वत कारवाही गर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्