
‘एक ठाउँमा फार्मेसी दर्ता, दुई ठाउँमा सञ्चालन’
गोरखा अस्पताल आसपास सञ्चालनमा रहेका केही फार्मेसीहरु एक ठाउँमा दर्ता भएर दुई ठाउँबाट ब्यबसाय सञ्चालन गरिरहेको पाइएको छ । सिर्जना फार्मेसी र अर्याल फार्मेसीले दुई ठाउँमा व्यवसाय सञ्चालन गरिरहेको पाइएको हो । यी दुई फार्मेसीले दुईठाउँमा व्यवसाय सञ्चालन गर्न पालना गर्नुपर्ने व्यवस्था उल्लंघन गर्दै अस्पतालको पुरानो गेट र नयाँ गेटबाट फार्मेसी सञ्चालन गरिरहेका हुन् ।
मापदण्ड बिपरीत दुईठाउँबाट ब्यबसाय सञ्चालन गर्ने सिर्जना फार्मेसी बिपना श्रेष्ठको नाममा दर्ता रहेको र अर्याल फार्मेसी रमा अर्यालको नाममा दर्ता रहेको गोरखा नगरपालिका वडा नम्बर ६ ले जनाएको छ । यी दुवै फार्मेसीले दुई ठाउँबाट व्यवसाय सञ्चालन गर्न इजाजत नलिएको स्वीकार गरेका छन् ।
‘नयाँगेटको सटरमा स्टक सामानमात्र राख्ने गरिएको छ’, सिर्जना फार्मेसीका सञ्चालक कृष्ण श्रेष्ठले भने, ‘त्यहाँबाट सामान बेचिदैन ।’ नयाँगेटमा फार्मेसी सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको उनले बताए । त्यस्तै रमा अर्याल फार्मेसीका सञ्चालक कुशलमान बस्नेतले पनि दुई ठाउँमा सञ्चालन गर्दा पूरा गर्नुपर्ने प्रक्रिया पूरा नगरेको स्वीकार गर्दै यथासीघ्र मापदण्ड पूरा गरेर सञ्चालन गर्ने जनाए ।
यी फार्मेसीहरुले दुई ठाउँबाट ब्यबसाय सञ्चालन गरेको बिषयमा आपूm जानकार नभएको बताउँदै गोनपा ६ का वडाअध्यक्ष नारायणप्रसाद अर्यालले आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गर्ने बताए । ‘एक ठाउँमा दर्ता भएर दुई ठाउँमा ब्यबसाय सञ्चालन गर्न पाइन्न । गरेका छन् या छैनन भन्ने बिषयमा मलाई खासै जानकारी छैन’, उनले भने, ‘यस बिषयमा अनुगमन गरेर मापदण्ड बिपरीत काम गरेका छन् भने मापदण्ड पूरा गर्न लगाउँछौँ ।’
वडा अध्यक्ष अर्यालका अनुसार सिर्जना र रमा अर्याल दुबै फार्मेसीले आर्थिक बर्ष २०७३÷०७४ देखि राजस्वसमेत तिरेका छैनन् । ‘यो बर्षको समेत गरेर उहाँहरुको तीन बर्षको कर तिर्न बाँकी रहेछ । अब तिर्न आउँदा जरिवाना समेत लाग्छ’, उनले भने ।
एक ठाउँमा फार्मेसी दर्ता भएर दुई ठाउँबाट ब्यबसाय सञ्चालन गर्न नपाउने भन्दै गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले यसो गर्दा राजस्व छलीसमेत हुने तर्क गरे । ‘एक ठाउँमा फार्मेसी ब्यबसाय दर्ता गरेर दुई ठाउँबाट सञ्चालन गर्नु मापदण्ड बिपरीत हो’, उनले भने, ‘दुई ठाउँमा ब्यबसाय सञ्चालन गरेर एक ठाउँको मात्रै कर तिर्दा राजश्व छली हुन्छ ।’
प्रक्रिया पूरा नगरी काम गर्नेलाई नगरपालिकाले नियमन गर्न पहल गर्ने रेग्मीले बताए । ‘फार्मेसीहरुलाई नियमन गर्ने निकाय औषधी ब्यबस्था बिभाग हो । तर, नगरपालिकाभित्र भएका कानुन बिपरीतका कामलाई निरुत्साहित गर्न नगरपािलका पनि लागिपर्छ’, उनले भने ।
एक ठाउँमा दर्ता गरी दुई ठाउँबाट ब्यबसाय सञ्चालन गर्न नपाईने घरेलु तथा साना उद्योग कार्यालय गोरखाका प्रमुख नवराज पौडेलले दावी गरे । ‘एक ठाउँमा ब्यबसाय दर्ता गरेर दुई ठाउँबाट सञ्चालन गर्न पाइदैन । यदि एक ठाउँमा दर्ता गरेर कोही कसैले दुई ठाउँबाट ब्यबसाय सञ्चालन गर्नेलाई कारवाही हुनेछ’, उनले भने ।




