| शनिबार, कार्तिक २८, २०८३

१० अर्ब लागतको मस्र्याङ्दी करिडोर २२० केभी विद्युत् प्रसारण लाइन बिस्तारको काम एकबर्षदेखि पालुङ्टारमा अबरुद्ध

स्थानीयबासीको अबरोधका कारण ‘गेम चेन्जर’ आयोजनाको रुपमा लिइएको मस्र्याङ्दी करिडोर २२० केभी डबल सर्किट विद्युत् प्रसारण लाइन बिस्तारको काम एक बर्षदेखि ठप्प भएको छ । नेपालीकै लाइफ लाइन हुने लक्ष्य राखिएको सो आयोजनाको गोरखा को पालुङटार नगरपालिका खण्ड एकबर्षदेखि अबरुद्ध भएको आयोजना प्रमुख चिरन्तन विक्रम राणाले जानकारी दिए ।

मनाङको धारापानीबाट चितवनको भरतपुरस्थित न्यु भरतपुर सबस्टेसनमा पुगेर टुङ्गिने नौ करोड अमेरिकी डलर युरोपेली इन्मेष्ट बैंकको सहुलितपूर्ण ऋणमा सो आयोजना एकबर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम सञ्चालन भइरहेको थियो । तर पालुङ्टार खण्डको ५.६ किलोमिटर खण्डको १६ वटा टावर निर्माण गर्ने काम गत गतबर्षको माघमहिनादेखि ठप्प भएको आयोजना प्रमुख राणाले बताए ।

पालुङ्टारमा निर्माणाधीन स्मार्टसिटी र प्याराग्लाइडिङ जोखिममा पर्ने भन्दै नगरपालिकाको वडा नम्बर ४ र ५ का बासिन्दाले काम रोकेका मेयर दीपकबाबु कँडेलले जानकारी दिए । ‘पहाडी जिल्लाको एउटा निर्माणाधीन स्मार्ट सिटी हो । यहाँ २२० केभीको प्रशारण लाइन बिस्तार गरेपछि सिटीको संरचना सम्भव छैन’, उनले भने, ‘अब पोखरामा अन्तर्राष्ट्रिय विमान स्थल सञ्चालन भएपछि त्यहाँबाट बिस्थापित भएका प्याराग्लगाइडिङ यहाँ स्थापित गर्ने योजना अघि बढिरहेको छ । परीक्षण उँडान पनि सम्पन्न भइसकेको छ ।

यस्तो अबस्थामा यहाँबाट २२० केभीको प्रशारण लाइन कसरी विस्तार गर्न दिन सकिन्छ ?’ पालुङ्टारको उत्तरपश्चिमबाट लिगलिगकोट को पछाडिबाट सिरानचोक हुनै नयाँ रुट कायम गर्न स्थानीय विकल्प दिइएको सो क्षेत्रबाट विजयी प्रदेश सांसद हरिशरण आचार्यले जनाए ।

‘मस्र्याङ्दीको किनारै किनार लैजानु पर्ने वा लिगलिग कोटको पछाडिबाट लैजानु पर्ने बिकल्प स्थानीयले दिएका छन्’, उनले भने, ‘तर राजनीतिक दाउपेचका कारण हुनसक्छ, पालुङटार बजारको बीचबीचै लैजान माथिल्लो तहमै लबिङ गरिएको छ ।’ मस्र्याङ्दीको किनारै किनार लाँदा पालुङ्टार बिमानस्थललाई बाधा पर्ने बहाना बनाउँदै भाँजो हालिएको उनले बताए ।

लामो समयदेखि विवाद समाधान नभएपछि सहरी विकास मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, उर्जा मन्त्रालय र आयोजनाका एकेक जना प्राविधिकहरु, प्रतिनिधिसभाका सांसद चुडामणि खड्का, प्रदेशसभाका सांसद हरिशरण र नगरपालिकाका मेयर दीपकबाबु कँडेल रहेको विवाद समाधान कार्यदल बनाइएको थियो । तर अहिलेसम्म समितिको बैठक बस्न पनि नसकिएको सांसद आचार्यले बताए ।

‘एकातिर आयोजना प्रमुखले काम सुचारु गर्ने वातावरण बनाइदिन दबाब दिएको दियै गर्ने, अर्कातिर कार्यदलको बैठकै बस्न नसकेपछि उर्जामन्त्रीको विशेष पहलमा पूर्वप्रधानमन्त्री तथा सांसद बाबुराम भट्टराई, प्राधिकरण का सिइओ कुलमान घिसिङ, सहरी विकास मन्त्रालयका प्रतिनिधि, नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, स्मार्ट सिटीका आयोजना प्रमुख, र २२० केभी प्रशारण लाइन आयोजना प्रमुख चिरन्तन बिक्रम राणा समेतको उपस्थितिमा गत माघ चार गते पालुङ्टारका बासिन्दासंग अन्तरक्रिया कार्यक्रम गरियो ।

त्यहाँबाट पनि कुनै निश्कर्ष निस्कन सकेन ।’ अर्को बैठकमा फेरि छलफल गर्ने निर्णय भएको उनले बताए । पालुङटार विमानस्थल चल्न पनि बाधा नहुने र बस्तीक्षेत्रमा पनि कम क्षति पुग्ने गरी प्रसारण लाइन निर्माण गर्न पूर्वप्रधानमन्त्री भट्टराईको जोड छ । ‘प्राविधिक दृष्टिकोणमा सम्भव भएमा रुटको अरु विकल्पबारे पनि अध्ययन गरौँ, सम्भव नै नहुने देखिएमा अहिले प्रस्ताव गरिएको रुटबाट पुग्ने क्षतिलाई कम गर्ने तर्फ सोचौँ’, भट्टराईले भने, ‘मासु पनि खाने, रगत पनि नबगाउने भनेझै विकास पनि चाहिने, आफ्नो केही पनि नगुमाउने भनेर विकास सम्भव हुँदैन । यसो भन्न थाल्यौँ भने यहाँ आएको विकास पनि गुमाउन सक्छौँ, त्यसैले थोरै गुमाएर धेरै लाभ लिने गरी अगाडि बढौँ ।’

सो कार्यक्रममा उपस्थित भएका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले क्षति काम हुने गरी विस्तृतरुपमा प्राविधिक अध्ययन गरी रुट तय गरिएकाले निर्माणमा सहयोग गरिदिन स्थानीयलाई आग्रह गरेका थिए ।

‘एअरपोर्ट नचाहिने हो भने मस्र्याङ्दी नदीको किनारै किनार लैजाँदा धेरै सजिलो र टावरहरु पनि कम बनाउनु पर्छ’, उनले तर्क गरे, ‘त्यहाँबाट लैजाँदा एअरपोर्ट या प्रसारण लाइनमध्ये एक छोड्नु पर्ने देखिएपछि दुवै सञ्चालन हुन सक्ने विभिन्न विकल्पहरुमाथि छलफल गरी अहिलेको रुट नै उत्कृष्ट प्राविधिक विकल्पको रुपमा तय गरिएको हो ।’ तत्काल यो लाइनको निर्माण गर्न नसकेमा मर्स्याङ्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्यत् प्रवाह गर्न नसकी अरबौँ रुपैयाँ पेनाल्टी तिर्नु पर्ने संवेदनशील अवस्था रहेको उनले बताए ।

‘विकास विरोधी पनि हैन तर मेरो जग्गाबाट पनि लाइन लैजान दिन्न भन्नु भएन’, उनले सम्झाए, ‘अहिले तय गरिएको रुटबाटै अझै कम क्षति हुने गरी लाइन निर्माण गरिने छ ।’ उनले स्मार्ट सिटीको रुपमा विकास गर्न लागिएको पालुङटारमा विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन ठूलो क्षमताको सबस्टेसन बनाइदिने प्रतिबद्धता जनाए । नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक कृष्णप्रसाद पौडेलले पालुङटार एअरपोर्टलाई सञ्चालनमा ल्याउन चालु आर्थिक वर्षबाट स्तारोन्नति गर्न लागिएको भन्दै मस्र्याङ्दीको किनारै किनार प्रसारण लाइन निर्माण गरेमा एअरपोर्ट चलाउन नसकिने प्रष्ट पारे ।

अवरोध हटेमा चैतभित्रमा प्रसारण लाइनको निर्माण सकिने घिसिङले बताए । आयोजनाको उदिपुरदेखि भरपुरसम्मको ६७ किलोमिटर प्रशारण लाइन २०२० डिसेम्बरभित्र विस्तार गर्ने गरी २०१७ जनवरीदेखि टेण्डर भएर काम सुरु भएको आयोजना प्रमुख राणाले बताए ।

प्रतिक्रिया दिनुहोस्