| शनिबार, कार्तिक २८, २०८३

भारत सरकारको सहयोगमा निर्माण हुने ५० हजार घरमध्य ९० प्रतिशत निर्माण सम्पन्न

गोरखा : भारत सरकारको सहयोगमा निर्माण हुने भनिएको भूकम्प पीडितको ५० हजार घरमध्य ९० प्रतिशत घर निर्माण सम्पन्न भएको छ । गोरखा र नुवाकोटमा निर्माण हुने भनिएको ५० हजार घरमध्य हालसम्म ४५ हजार एकसय ८८ वटा घर निर्माण सम्पन्न भएको नेपाल आवास पुनर्निर्माण परियोजनाले जनाएको छ ।

‘५० हजार घरमध्य गोरखामा २६ हजार नौसय १२ र नुवाँकोटमा २३ हजार ८८ घरधुरी निर्माण गर्ने योजना हो’, परियोजनाका गोरखा प्रमुख राम सापकोटाले भने, ‘गोरखामा २४ हजार दुईसय ८४ घर निर्माण सम्पन्न भएको छ भने नुवाँकोटमा २० हजार नौसय चार वटा निर्माण भइसकेका छन् ।’

भूकम्पपछि आयोजना गरिएको सहयोगदाताहरुको सम्मेलनपछि भारत सरकारले निजी आवास पुनर्निर्माणका लागि १५ अर्ब ८७ करोड सहयोग गरेको थियो । जसमध्य घर पुनर्निर्माणतर्फ १५ अर्ब र ८७ करोड रुपैयाँ बराबरको प्राविधिक सहयोग गरिरहेको छ ।

‘भारत सरकारले गोरखा र नुवाकोटका ५० हजार लाभग्राहीको निजी आवास पुनर्निर्माणका लागि तीनलाख रुपैयाँका दरले १५ अर्ब रुपैयाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सहयोग प्रदान गरेको छ भने ८७ करोड रुपैयाँचाहिँ सोही परियोजनामार्फत प्राविधिक सहयोग गरेको छ’, युएनडिपीका वरिष्ठ कार्यक्रम अधिकृत केदार ढुंगानाले भने, ‘सन् २०२१ मार्चसम्ममा सम्पन्न गर्ने गरी २०१८ मार्चदेखि सुरु गरिएको भारत सरकारको सहयोग कार्यक्रम १५ महिना बाँकी छँदै ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।’

परियोजनाले जिम्मा लिएकोमध्य गोरखामा एकहजार दुईसय ५८ घर निर्माणाधीन छन् । एकहजार दुईसय ४९ जनाको घर निर्माण कार्य सुरु भएको छैन ।  गोरखाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, धार्चे गाउँपालिका, गण्डकी गाउँपालिका, अजिरकोट गाउँपालिका, आरुघाट गाउँपालिका, सिरानचोक गाउँपालिका र शहीदलखन गाउँपालिकाका ४२ वटा वडाहरुमा र नुवाँकोटको दुई नगरपालिका र आठवटा गाउँपालिकामा भारत सरकारको सहयोगमा भूकम्प पीडितको घर निर्माण भएका हुन् ।

भूकम्पले भत्किएका घर पुनर्निर्माणका लागि परियोजनाले चार हजार दुईसय ९० जनालाई डकर्मी तालिम दिएर पुनर्निर्माणमा खटाएको छ । उनीहरुमध्य दुईसय ४० महिलालाई दक्ष डकर्मी बनाएको जनाएको छ ।  ‘हामीले सामाजिक सहजीकरण, प्रशासनिक सहजीकरण, प्राविधिक सहजीकरणको काम पनि गरिरहेका छौं’, परियोजनाका जिल्ला संयोजक सापकोटाले भने, ‘किस्ता निकासाका लागि टोल, वडा र पालिकास्तरमा भेला गर्ने, पुनर्निर्माणका लागि समुदाय परिचालन गर्ने, संकटासन्न घरधनीलाई सहयोगार्थ स्थानीय जनशक्ति र सामग्री परिचालन गर्ने, गुनासोको समाधान र त्यसको सुनिश्चितता गर्ने जस्ता काममा सहजीकरण गरेका छौं ।’ त्यस्तै समयमै घर निरीक्षणका लागि प्राविधिकसंग समन्वय गर्ने, निरीक्षण सकिएका घरधनीको फाराम भर्न सहयोग गर्ने तथा फाइल निश्चित स्थानमा पुगेको सुनिश्चितता गर्ने, जिल्ला स्तरीय आयोजना कार्यन्वयन निकायमा थप जनशक्ति राखी किस्ता निकाशा प्रक्रियालाई गति दिने, संकटासन्न घरधनीका लागि घुम्ति कोषको स्थापनाका लागि गाँउपालिकासंग समन्वय गर्ने, बैंक, जग्गा आदि सम्बन्धी समस्या समाधानकालागि सहजिकरण गर्ने काम पनि गरेको उनले बताए ।

भारत सरकारद्वारा सञ्चालित परियोजनाले घर निर्माणको योजना बनाउन, बजेट निर्धारण गर्न र सामग्री छनोटका लागि प्राविधिक सहयोग दिने गरेको छ । घरको निःशुल्क नक्सा बनाउन र नक्सा पास प्रक्रियामा सहजिकरण गर्ने, घरधनी र डकर्मी बीच समन्वय गर्ने, घरधनीलाई आवास निर्माण साथी बनाउने, सब इन्जिनियर, र इन्जिनियर मार्फत स्थलगत सुझाव प्रदान गर्ने, समयमै घर निरीक्षणका लागि प्राविधिकसंग समन्वय गर्ने, घर निर्माणको बिभिन्न चरणमा स्थलमा गएर ईन्जिनियरले निरीक्षण तथा सहयोग गर्ने, घरधनी र डकर्मीलाई क्षमता अभिवृद्धिका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्ने काम पनि गरेको सञ्चार अधिकृत तारा ढकालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्