
गोरखा युथ क्लवको आयोजनामा गोरखा-बारपाक मोटरसाईकल ‘रेस’ हुने
भ्रमण वर्ष सन् २०२० मा गोरखामा आन्तरीक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले गोरखा सदरमुकामदेखि बारपाक सम्म मोटरसाईकल ‘रेस’ हुने भएको छ । गोरखा युथ क्लवले फागुन ७ गते चार सय भन्दाबढि मोटरसाईकल सहित यात्रा गर्न लागेको क्लवका अध्यक्ष सुमन गुरुङले बताए ।
बिहिवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै क्लवले गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक गाउँपालिका सहित स्थानीय सरकारको सहयोगमा प्रायोजक कम्पनी खोजेर कार्यक्रम गर्न लागेको जनाएको छ । ‘भ्रमण वर्षमा गोरखा र भुकम्पको केन्द्रबिन्दु बारपाकको प्रचार गर्ने उद्देश्य हो’ क्लवका सल्हाकार एवं कार्यक्रम संयोजक रञ्जितकुमार श्रेष्ठले भने । काठमाण्डौँ, पोखरा, चितवन लगायत बिभिन्न ठाउँबाट मोटरसाईकल यात्रामा युवाहरु सहभागी हुनेछन् । १८ वर्ष उमेर भएको, लाईसेन्स भएकाले चार हजार रुपैयाँ तिरेर सहभागीता जनाउन सक्ने संयोजक श्रेष्ठले बताए । यात्रामा सहभागीलाई फागुन ७ गते बिहान खाना, खाजा, बारपाकमा होमस्टेमा खान बस्न सहित पाँच सय रुपैयाँको पेट्रोलको ब्यवस्था गरिने क्लवले जनाएको छ । यात्रामा सहभागीहरुले राष्ट्रिय झण्डा, पर्यटन वर्षको प्रचारात्मक टिर्सट लगाउनेछन् ।
गोरखा—बारपाक करिब ५४ किलोमिटर छ । करिब ३५ किलोमिटर सडक कच्ची छ । दुर्घटनाको जोखिमलाई ध्यान दिँदै हरेक सहभागीको ५० हजार रुपैयाँको बिमा, मोटरसाईकल मर्मतको काम पनि आयोजकले गर्नेछ । सहभागी मध्येबाट गोलाप्रथा गरि पहिलो हुनेलाई एक लाख, दोस्रो ७५ हजार पुरस्कार सहित १० जनालाई हेलमेट उपहार दिने योजना गरिएको अर्का सल्हाकार दिपेन्द्र श्रेष्ठले बताए । बारपाकमा साँस्कृतीक कार्यक्रम गरिने तय भएको छ । स्थानीय क्लव, समुह र होमस्टेको संयोजनमा यात्रामा सहभागीलाई आबासको ब्यवस्था मिलाइएको छ । स्थानीय कला संस्कृतीको पनि प्रर्दशनी गरिने योजना भएको उनले बताए ।
२०४७ सालमा दर्ता भएको गोरखा युथ क्लवले पहिले पनि खेलकुद महोत्सव गरेको थियो । क्लवका पदाधिकारी तत्कालिन समयमा गोरखा भन्दा बाहिर हुँदा निस्क्रिय रहेको क्लवले पुन सामाजिक कामको थालनी गरेको सल्हाकार भगवानबाबु मास्केले बताए । उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, गोरखा जेसिज, लियो क्लव अफ गोरखा, बारपाक समाज गोरखा, सेभेन सिष्टर वारपाक, बालुवा क्लव गोरखा, रोट्याक्ट क्लब अफ गोरखा,गोरखा जिल्ला फुटबल संघ, लायन्स क्लव अफ गोरखा, लायन्स क्लव फल गोरखा सिटी, औषधी ब्यवशायी संघ गोरखा र दाह«ी ग्याङ गोरखा लगायत संस्थाको साँझेदारी रहने क्लवका सचिव अमित खत्रीले बताए ।




