| शनिबार, कार्तिक २८, २०८३

गोनपाका महिला जनप्रतिनिधिले भने : सक्रिय रहन भुमिका पाइएन

‘हामी नगर कार्यपालिका सदस्य हौँ तर आफ्नो वडाको काम के कस्तो भइरहेको छ भन्ने बारे हामीलाई केही जानकारी नै हुँदैन’ गोरखा नगर कार्यपालिका सदस्य मित्रा परियारले सोमवार एक कार्यक्रममा नगरप्रमुखलाई गुनासो सुनाउँदै थपिन् ‘हामी सदस्यहरुको भुमिका खासै भएन ।’ गोनपा ७ की जनप्रतिनिधि मैना रोकाले महिला जनप्रतिनिधिको कुरा सुनुवाई नभएको दुःखेसो गरिन् ।

‘हामीलाई कार्यक्रममा सहभागी पनि गराइन्छ तर खै हाम्रो कुरा खासै सुन्दैनन् ।’ गोनपा ८ कि राधिका कट्टेलले वडामा भएको सबै काममा सहभागी गराए महिला सदस्यलाई पनि जान्ने मौका मिल्ने बताइन् । कार्यबाहक दिँदा महिला सदस्यलाई कम दिने गरेको, महिला सदस्यको भुमिका खासै नदेखिएको, सरकारी कार्यालयमा महिला सदस्यले गरेको सिफारिसलाई अटेरी गर्ने गरेको गुनासो नगरप्रमुख राजन राज पन्तसँग महिला सदस्यहरुले गरे ।

गोनपा ३ की सीता दानीले स्वास्थ्य बिमा गराएर उपचार सेवा लिन गएकालाई निशुल्क औषधी गोरखा अस्पतालले छैन भन्दै फर्काउनले गरेको दुखेसो गरिन् । अर्का सदस्य पूर्णिमा दराईले भनिन् ‘योजना छनौट भएपछि उपभोक्ता समिति बनेपछि पनि किन काम ढिलो भइरहेको छ ?’ नगर कार्यपालिका सदस्य सावित्रा थापा पुलामीले टेण्डर गरिएका कागजात अंग्रेजी माध्याममा मात्र हुँदा महिला सदस्यलाई बुझ्न कठिन भएको र सहज रुपमा उपलब्ध नगराउने गरेको गुनासो गरिन् ।

सदस्यहरुको गुनासो सुनेपछि नगरप्रमुख पन्तले महिला तथा दलित सदस्यहरुको गुनासो सुन्न आफुले अन्तक्रिया गरेको बताए । सदस्यहरुले राखेका प्रश्नको जवाफ दिँदै उनले भने ‘संविधानले तोकेका केही अधिकार छन्, ती अधिकार तह र पद अनुसार स्वयं ब्यक्तिले गर्नुपर्छ अन्यथा महिला सदस्यले गरेकै कारण सिफारिस मान्य नहुने भन्ने हुँदैन ।’ वडामा हुने सबै गतिविधि सदस्यलाई पनि थाहा हुनुपर्ने बताउँदै उनले भने ‘आफ्नो वडाको काम र गतिविधिबारे महिला सदस्यहरुले पनि चासो राख्नुपर्छ ।’

वडा समितिले निर्धारण गरेका योजना र ती योजनाको प्राथमिकिकरणलाई वडा अध्यक्षले नगरबाट फेरबदल भएको भन्ने जवाफ दिएको भन्दै सदस्यहरुले गुनासो गरेका थिए । जवाफमा मेयर पन्तले भने ‘वडाबाट आएको एउटा पनि योजना नगरले फेरबदल गरेको छैन, र गर्दैन ।’
जनताको आव श्यकतालाई ध्यान दिएर देखिने खालका ठुला योजनामा बजेट बिनियोजन गर्न सुझाब भने दिएको उनले बताए ।

उपभोक्ता समिति गठन भईसक्दा बिकास निर्माणको काम सुरु नभएको प्रति महिलाहरुको गुनासो थियो । लोकसेवा आयोगले पदपूर्ती गर्नुपर्ने कर्मचारी नआउँदा एउटै प्राविधिक ले धेरै वडाको काम गर्नुपर्दा बिकास निर्माणको काम एकैसाथ सुरु गर्न नसकिएको नगरप्रमुख पन्तले  बताए । मंगलवारबाट तीनवटा प्राविधिक सहितको टोलीले वडा स्तरमा पुगेर योजना सम्झौता गरेसँगै धमाधम बिकास निर्माणको काम अघि बढ्ने बताए ।  नगरपालिकाको आयोजना र सोच नेपालको समन्वयमा आईतवार र सोमवार महिला तथा दलित सदस्यहरुलाई क्षमता अभिवृिद्ध तालिम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्